
आमालाई बैंगलोर गएको म्यासेज छोडेर मुम्बईबाट हराएका थिए
८ साउन, काठमाडौं । भक्तपुरमा मृत भेटिएका दिदीबहिनी भारतबाट हराएको खुलेको छ । करिब तीन साताअघि भारतको मुम्बईस्थित मीरा भाइन्दरबाट हराएका दुईजना नेपाली दिदीबहिनी शंकास्पद अवस्थामा भक्तपुरमा मृत भेटिएका हुन् ।
मध्यपुर ठिमी नगरपालिका-८ बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा किशोरी दिदीबहिनी मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डीराज नेउपानेले बताए ।
बिहीबार बिहान ६:४५ बजेतिर प्रजापतिको इँटा र फलामले बनेको दुईतले घरको भुइँतलामा दिदीबहिनी मृत अवस्थामा भेटिएका हुन् । मृत भेटिनेमा सुर्खेत पञ्चपुरी नगरपालिका-८ घर भएका १६ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १३ वर्षीया सिर्जना कँडेल छन् ।
आफू बस्ने डेरा कोठाको प्यासेजमा नाइनलको डोरीले बाँधेर झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको थियो । फलामको डन्डीमा नाइनलको डोरी घुसाएर दुईतर्फको टुप्पाले घाँटीमा पासो लागेको अवस्थामा उनीहरू मृत भेटिएका हुन् ।
प्रहरीले उनीहरूको शव उठाएको छैन । आफन्तले मृतकका बाबुआमा आएपछि मात्रै शव उठाउनु भनेपछि घटनास्थल सुरक्षित गरेर राखिएको प्रवक्ता नेउपानेले बताए ।
भारतमा रहेका उनका बाबुआमा आजै दिल्लीबाट विमानमार्फत काठमाडौं आउने तयारीमा रहेको प्रहरीले बताएको छ ।
उनीहरूको मृत्यु शंकास्पद देखिएको छ । मृतक किशोरीका बाबुआमाले भने आफ्ना छोरीहरूलाई कसैले होटलमा काम लगाएको आरोप लगाएका छन् । मृत्युको खबर पाउनुपूर्व उनीहरू छोरीहरूको खोजी गर्दै भारतको एक अनलाइन टेलिभिजनमा पुगेका थिए । सिगास अनलाइन टेलिभिजनमा कुराकानी गर्दै किशोरीका बाबुआमा (वासुदेव, उमा)ले सीसी क्योमरा नभएको ठाउँमा होटल साहुजीले काम लगाउने गरेको बताएका थिए ।
उनीहरूले यो कुरा तीन दिन पहिला ५ साउनमा बताएको प्रकाशित अन्तर्वार्ताको मितिबाट खुल्छ । त्यसको तीन दिनपछि दुवैजना झुन्डिएको अवस्थामा मृत भेटिएको खबर सार्वजनिक हुन्छ ।
यता, यो विषयमा भने केही जानकारी नभएको प्रहरीले बताएको छ । ‘अहिले उहाँहरूका बाबुआमा तथा आफन्तसँग हामीले कुराकानी गर्न पाएका छैनौं । होटलमा काम गर्ने हो/होइन त्यो पनि यकिन हुन पाएको छैन । अहिले सबै विषय अनुसन्धानकै क्रममा छ,’ नेउपानेले भने ।
प्रहरी स्रोतका अनुसार मृत भेटिएका किशोरी करिब १५ दिनअघिबाट उक्त घरमा बसेको पाइएको छ । उनीहरूले घरबेटीलाई भने आफूहरू कलेज पढ्ने भनेर कोठा लिएको बताएको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थल सुरक्षित पारेर राखिएको छ । मृतकका बाबुआमा आएपछि घटनास्थल मुचुल्का गरेर शव पोस्टमार्टमका लागि पठाइएपछि बल्ल अनुसन्धानले गति लिने प्रहरीले बताएको छ ।













