
गायक तथा संगीतकर्मी रमेशराज भण्डारीको नयाँ तीज गीत ‘रेलिमै घुमौँला फिरौँला’ सार्वजनिक भएको छ। तीजको मौलिक संस्कृति, नेपाली कला र आन्तरिक पर्यटनलाई गीतमार्फत जोड्ने उद्देश्यले गीत तयार गरिएको हो।
बागलुङको बडिगाड गाउँपालिका–५, ग्वालीचौरमा जन्मिएका भण्डारी हाल चितवनको मङ्गलपुरमा बस्दै आएका छन्। बाल्यकालदेखि नै गीत–संगीतमा रुचि राख्दै आएका उनले विद्यालय तहमा आयोजना हुने विभिन्न गायन प्रतियोगितामा सहभागी हुँदै आफ्नो सांगीतिक यात्रा अघि बढाएका हुन्।
गीतमा नेपालका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्यलाई समेटिएको छ। गुल्मीका रेसुङ्गा र धुर्कोट दरबारदेखि बागलुङको ढोरपाटन र बागलुङ कालिकासम्मका स्थललाई गीतमा प्रस्तुत गरिएको छ। यस्तै पोखरा, रुपन्देहीको फुलबारी, इलाम र काठमाडौंका विभिन्न पर्यटकीय क्षेत्रको समेत चर्चा गरिएको छ।
‘रेलिमै घुमौँला फिरौँला’मा रमेशराज भण्डारीसँगै खुमन अधिकारी र अपेक्षा गिरीको स्वर रहेको छ। गीतका शब्द बासुदेव पोखरेलले लेखेका हुन् भने संगीत भण्डारीकै रहेको छ।
तीजसँगै रोइला, आधुनिक तथा गाईजात्रालगायत विधाका गीतमा सक्रिय भण्डारीले यसअघि ‘लै माया लै’, ‘अतीत’ र ‘हाम्रो चोखो माया’लगायत गीतमा स्वर तथा शब्द–संगीत दिइसकेका छन्। उनी सांगीतिक क्षेत्रसँगै चितवन मेडिकल कलेजमा समेत कार्यरत छन्।
गीतको भिडियो निशान बानियाँले निर्देशन गरेका हुन्। भिडियोमा ममता राना मगर, कैलाश कठायत, गङ्गा बोहोरा र सन्तोष थापालगायत कलाकारको अभिनय छ। सुजन कोइरालाले सम्पादन गरेको भिडियोको मास्टरिङ कुमार राना मगरले गरेका छन्।
भण्डारीले गीतलाई तीजको मनोरञ्जनमा मात्र सीमित नराखी नेपाली कला, संस्कृति र पर्यटन प्रवद्र्धनसँग जोड्ने प्रयास गरिएको बताए। नेपालका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थललाई संगीतमार्फत चिनाउने उद्देश्य रहेको उनको भनाइ छ।
‘घुमौँला, फिरौँला र नेपाल चिनौँला’ भन्ने सन्देशसहित तयार गरिएको गीतले नेपाली मौलिकता संरक्षणसँगै आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
