
बागमती प्रदेशसभाको बैठक आज दिउँसो ४ बजे बस्दैछ। मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको हो।
यसअघि सोमबारका लागि बोलाइएको बैठक पटक–पटक सारिए पनि सत्तारुढ गठबन्धनभित्रको आन्तरिक विवाद, सांसदहरूको अनुपस्थिति तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को असहमतिका कारण विश्वासको मत लिने वातावरण बन्न नसकेपछि बैठक स्थगित गरिएको थियो।
सोमबार दिउँसोका लागि बोलाइएको बैठक साँझ ५ बजे र त्यसपछि राति ८ बजे बस्ने गरी समय निर्धारण गरिएको थियो। तर, सत्तासहकार्य गरेका दलका केही सांसद अनुपस्थित भएपछि बैठक बस्न सकेन। राप्रपाभित्रको विवाद र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेशसभा बैठकमा अवरोध गर्ने चेतावनी दिएपछि पनि अन्योल कायमै रह्यो।
मुख्यमन्त्री थापामगरलाई विश्वासको मत प्राप्त गर्न प्रदेशसभामा तत्काल कायम सदस्य संख्याको बहुमत अर्थात् ५३ सांसदको समर्थन आवश्यक छ। तर, सत्तासाझेदार दल नेकपाका सात सांसद सोमबारको बैठकमा अनुपस्थित रहने अवस्था देखिएपछि सरकारलाई बहुमत जुटाउन चुनौती थपिएको थियो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मुख्यमन्त्री थापामगर नेतृत्वको सरकार गठनको संवैधानिक वैधतामाथि प्रश्न उठाउँदै प्रदेशसभा बैठक सञ्चालनमा अवरोध गर्ने चेतावनी दिएको छ।
यसैबीच, राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले मुख्यमन्त्री नियुक्तिविरुद्ध उच्च अदालत पाटन, हेटौंडा इजलासमा उत्प्रेषण तथा परमादेशको माग गर्दै निवेदन दायर गरेकी छन्। अदालतले कारण देखाउ आदेश जारी गर्दै आगामी १० भदौमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
अदालतमा मुद्दा विचाराधीन रहेको तथा प्रदेशसभामा दलहरूबीच सहमति बन्न नसकेको अवस्थामा आजको बैठक सहज रूपमा सञ्चालन हुने सम्भावना न्यून रहेको नेताहरूले बताएका छन्।
