
निकोसिया, साइप्रस — निकोसिया युथको आयोजनामा हरितालिका तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सेप्टेम्बर १३ तारिख आइतबार आयोजित कार्यक्रममा साइप्रसमा रहेका नेपाली समुदायका विभिन्न व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा लामो समयदेखि साइप्रसलाई कर्मथलो बनाउँदै आउनुभएकी समाजसेवी बिना थापाको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सुदूरपश्चिमेली नेपाली समाज साइप्रसकी अध्यक्ष रमिता चन्द (रितु)ले गर्नुभएको थियो।
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रममा नेपाली कला, संस्कृति र परम्पराको संरक्षणसँगै आपसी सद्भाव तथा एकतालाई प्राथमिकता दिइएको थियो। सहभागीहरूले तीजका गीत तथा नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई उत्सवमय बनाएका थिए।
तीज कार्यक्रमकै अवसरमा निकोसिया युथले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालमा बाढीबाट प्रभावित आफ्नै एक सदस्यलाई १ लाख ६२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। बाढीका कारण सदस्यको धनजनमा क्षति पुगेपछि विपद्को समयमा आफ्नै समुदायका सदस्यलाई साथ दिने उद्देश्यले उक्त सहयोग गरिएको आयोजकले जनाएको छ।
त्यसैगरी, नेपालमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २२ हजार ६ सय ७५ रुपैयाँ सहयोग गरिएको छ।
यसरी निकोसिया युथले बाढीपीडित आफ्नै सदस्य र नेपालका अन्य विपद्पीडितका लागि गरी कुल २ लाख ८४ हजार ६ सय ७५ रुपैयाँ सहयोग गरेको छ।

सांस्कृतिक पर्वलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै गरिएको यस पहलले विदेशमा रहेर पनि नेपाली समुदायप्रतिको सहयोग, एकता र मानवीय भावना कायम रहेको सन्देश दिएको आयोजक पक्षले जनाएको छ।

कार्यक्रममा सहभागीहरूले तीजको शुभकामना आदानप्रदान गर्दै विदेशमा रहेर पनि नेपाली कला, संस्कृति र परम्परालाई निरन्तरता दिन यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताएका थिए। साथै, विपद्को समयमा एक–अर्कालाई सहयोग गर्दै नेपाली समुदायबीचको एकता र सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिइएको थियो।
निकोसिया युथले आगामी दिनमा पनि सामाजिक, सांस्कृतिक तथा मानवीय गतिविधिलाई निरन्तरता दिने जनाएको छ।
