
प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढी नेपालका लागि मात्रै नभई विश्वकै लागि चेतावनीको सन्देश भएको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई सम्बोधन गर्दै शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमतर्फ विश्व समुदायको ध्यानाकर्षण गराएका हुन्।
भोटेकोशी बाढीले ठूलो जनधनसँगै पूर्वाधार, जलविद्युत् आयोजना र जनजीवनमा क्षति पुर्याएको उल्लेख गर्दै शाहले हिमाली क्षेत्रमा यस्ता विपद्को जोखिम अझ बढ्दै गएको बताए। भोटेकोशीको विपद् नेपालले निम्त्याएको नभएको स्पष्ट गर्दै उनले जलवायु परिवर्तनमा न्यून योगदान गर्ने देशहरूले समेत त्यसको असमान असर भोग्नुपरिरहेको बताए।
शाहले हिमाली क्षेत्रमा बढ्दो तापक्रम, तीव्र गतिमा पग्लिरहेका हिमनदी र त्यसबाट सिर्जना हुने जोखिमप्रति अन्तर्राष्ट्रिय समुदाय गम्भीर हुनुपर्ने बताए। जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर भने गम्भीर रूपमा भोगिरहेको उनको भनाइ थियो।
जलवायु न्याय, सहज र पहुँचयोग्य जलवायु वित्त, प्रविधि हस्तान्तरण तथा विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको शाहले बताए। जलवायुजन्य विपद्को क्षति न्यूनीकरण गर्न पूर्वतयारी, सूचना प्रणाली र जोखिम व्यवस्थापनमा लगानी बढाउनुपर्नेमा उनले जोड दिए।
सम्बोधनका क्रममा शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा रहेको असमानतामाथि पनि प्रश्न उठाए। हतियार आपूर्तिका लागि विश्वसँग तीव्र र प्रभावकारी संयन्त्र भए पनि किसानका लागि मल र इन्धन आपूर्तिमा त्यस्तो व्यवस्था कमजोर रहेको उनले बताए।
अन्तरमहादेशीय क्षेप्यास्त्र तथा राइफल र गोलाबारुद तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्न सक्ने भए पनि नेपालका किसानले आवश्यक परेको समयमा बजार मूल्यमा समेत मल वा इन्धन पाउन नसक्ने अवस्था रहेको शाहले उल्लेख गरे।
सम्बोधनमा शाहले नेपालको पछिल्लो राजनीतिक परिवर्तन र लोकतान्त्रिक प्रक्रियाको विषय पनि उठाए। उनले गएको फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचन नेपालको इतिहासकै शान्तिपूर्ण र निष्पक्ष निर्वाचन भएको दाबी गरे। निर्वाचनपछि बनेको सरकारले सुशासन, सुधार र जनमुखी शासनलाई प्राथमिकता दिएको पनि उनले बताए।
सम्बोधनको अन्त्यमा शाहले विश्व शान्ति र कल्याणको कामना गर्दै भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून् र विश्व बुद्धले देखाएको बाटोमा अघि बढ्न सकोस् भन्ने कामना गरे।
