
नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज जनकपुर बोल्ट्सले इंग्ल्यान्डका पूर्वअन्तर्राष्ट्रिय अलराउन्डर तथा दुईपटकका विश्वकप विजेता मोइन अलीलाई अनुबन्ध गरेको छ । अली तेस्रो सिजनका निम्ति जनकपुरमा आबद्ध हुने चौथो विदेशी खेलाडी हुन् ।
बोल्ट्सले यसअघि कप्तानका रूपमा हरमित सिंह, न्युजिल्यान्डका अलराउन्डर जिमी निशाम र पाकिस्तानका ब्याटर इफ्तिखर अहमदलाई अनुबन्ध गरिसकेको छ ।
इंग्ल्यान्डले सन् २०१९ मा एकदिवसीय र २०२२ मा ट्वान्टी–२० विश्वकप जित्दा बायाँहाते ब्याटर र अफ स्पीन बलर अलीको भूमिका महत्त्वपूर्ण थियो । तीनै ढाँचामा इंग्ल्यान्डको प्रतिनिधित्व गरेका उनले टी–२० अन्तर्राष्ट्रियमा कप्तानी जिम्मेवारी पनि निर्वाह गरिसकेका छन् ।
सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका अली विश्वका प्रमुख फ्रेन्चाइज लिगमा भने सक्रिय छन् । उनले चेन्नई सुपर किंग्सबाट खेल्दै सन् २०२१ र २०२३ मा इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेका थिए ।
अलीले नेपाली क्रिकेटको माहोल आफैँ अनुभव गर्न आतुर रहेको बताएका छन् । “नेपाली क्रिकेट समर्थकहरूको अपार जोस र आफ्नो टोलीलाई समर्थन गर्न जहाँसुकै पुग्ने उनीहरूको समर्पण मैले देखेको छु । अब त्यो अद्भुत माहोल आफैँ अनुभव गर्न आतुर छु । बोल्ट्सका निम्ति यो सिजन रोमाञ्चक रहने अपेक्षा छ । म मैदानमा टोलीका लागि आफ्नो शतप्रतिशत दिन तयार छु,” उनले भने ।
जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मधेसका क्रिकेटप्रेमीलाई अलीको अनुबन्धन एक उपहार रहेको बताए । “अलीको आगमन नेपाली क्रिकेट र एनपीएलको बढ्दो विश्वव्यापी पहिचानको प्रमाण हो । यो अनुबन्ध हाम्रा समर्थक र आफ्नो टोलीलाई मुटुभन्दा प्यारो मान्ने मधेसका जनताप्रति समर्पित छ । तपाईंहरूको माया र विश्वासका लागि यो हाम्रो उपहार हो । यसपटक जनकपुरको गर्जन अझ ठूलो हुनेछ,” उनले भने ।
