ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिमबाट बिहीबार ११९ जना जवान दीक्षित भएका छन् ।

सिनं २३९ (ङ) को आधारभूत तालिम पूरा गरेका जवानलाई आयोजित दीक्षान्त समारोहमा शपथ ग्रहण गराउनुका साथै दर्ज्यानी चिह्न प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक राजेन्द्र खड्कालाई दीक्षित जवानले सलामी अर्पण गर्दै अन्तिम कवाज प्रदर्शन गरेका थिए । सो अवसरमा तालिममा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीलाई पुरस्कृत गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै नायब महानिरीक्षक खड्काले तालिम पूरा गरेसँगै जवानको काँधमा राष्ट्रसेवाको थप जिम्मेवारी आएको बताए । उनले अनुशासन, साहस, विवेक र मानवीयतालाई आत्मसात् गर्दै नागरिकको सुरक्षा र सम्मानका लागि समर्पित भएर काम गर्न निर्देशन दिए ।

‘कर्तव्य निर्वाह गर्दा कठोरतासँगै मानवीयता, साहससँगै विवेक र अनुशासनसँगै विनम्रता पनि कायम राख्नुहोस्,’ उनले भने ।

तालिम शिक्षालयका प्रमुख एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विकास घिमिरेले सङ्गठनको भर्ना तथा छनोट प्रक्रिया उत्तीर्ण गरी नियुक्त भएका जवानलाई व्यावसायिक, दक्ष, इमानदार र कर्तव्यनिष्ठ जनशक्तिका रूपमा तयार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।

उनका अनुसार तालिममा सहभागी ११९ जना प्रशिक्षार्थीलाई विभिन्न समूहमा विभाजन गरी प्रशिक्षण प्रदान गरिएको थियो । तालिमलाई दुई चरणमा सञ्चालन गरिएको थियो ।

पहिलो चरणमा फौजी कवाज, हतियार तालिम, सैन्य कौशल, शारीरिक दक्षता, फायरिङ, फिल्ड क्राफ्ट, युद्धकला र नक्सा अध्ययनलगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिइएको थियो ।

त्यस्तै, दोस्रो चरणमा विपद् व्यवस्थापन, हुल तथा दङ्गा व्यवस्थापन, सीमा सुरक्षा, विभिन्न ऐनकानुन, फायरिङ, फिल्ड इन्जिनियरिङ र रेडियो सिग्नललगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । दुवै चरणमा पाँच–पाँच दिनका बाह्य अभ्याससमेत सञ्चालन गरिएको घिमिरेले जानकारी दिए ।

दीक्षान्त समारोहमा सशस्त्र प्रहरी बलका विभिन्न तहका प्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख र दीक्षित जवानका अभिभावकको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »