
चेपाङ विद्यार्थीले बनाएको स्याटेलाइट पुग्दैछ अन्तरिक्ष
३२ असार, काठमाडौं । प्रविधिको युगमा हरेक नयाँ पुस्ता केही नयाँपन लिएर आउँछ । चेपाङ समुदायका विद्यार्थी पनि नयाँ-नयाँ कुरा अन्वेषण गर्दैछन् । त्यसको पछिल्लो उदाहरण हो- स्लिपर्स टु स्याट ।
चितवनको नवोदय माध्यमिक विद्यालयमा अध्ययनरत चेपाङ समुदायका विद्यार्थीले स्याटेलाइट बनाएर नेपालको अन्तरिक्ष अनुसन्धानमा ऐतिहासिक कदम चाले ।
‘स्लिपर्स टु स्याट’ परियोजनामार्फत यी किशोर-किशोरीले सीमित स्रोतसाधन र अथक मिहिनेतको बलमा स्याटेलाइट बनाए, जुन १५ सेप्टेम्परमा छिमेकी मुलुक चीनबाट प्रक्षेपण गर्ने तयारी छ ।
‘स्लिपर्स टु स्याट’ परियोजना २०८१ मा सुरु भएको थियो । अन्तरिक्ष प्रतिष्ठान नेपालको पहलमा चितवनको नवोदय र अन्तोदय माध्यमिक विद्यालयबाट १२० जना विद्यार्थी तालिमको लागि छनोट भए । ७ दिनको तालिममा उनीहरूलाई आधारभूत इलेक्ट्रोनिक्स, कम्प्युटर सञ्चालन र कोडिङ सिकाइयो ।
‘हामीलाई सुरुमा स्याटेलाइट भनेको के हो, केही थाहा थिएन,’ परियोजनामा सहभागी विद्यार्थी अमृत चेपाङले भने, ‘कम्प्युटर अन-अफ गर्न पनि डर लाग्थ्यो । हामीले कहिल्यै कम्प्युटर चलाएका थिएनौं । तर मेन्टरहरूले सरल तरिकाले सिकाउनुभयो ।’
तालिममा विद्यार्थीलाई इलेक्ट्रोनिक्सका सामान्य सामग्री, क्यामेराबाट फोटो खिच्ने, चित्र बनाउने र कोडिङका आधारभूत ज्ञान सिकाइयो । कक्षा ८ र ९ मा अध्ययनरत यी विद्यार्थीमध्ये ९ जना स्याटेलाइट निर्माणको मुख्य जिम्मेवारीका लागि छानिए । उनीहरूको चयन तालिममा देखाएको सक्रियता र सिकाइको आधारमा भएको थियो । सम्बन्धित विद्यालयले यसमा धेरै सहयोग गरेको ‘स्लिपर्स टु स्याट’का प्रोजेक्ट म्यानेजर ऋषभ अधिकारी बताउँछन् ।
कम्प्युटर चलाउन नजान्ने विद्यार्थीलाई लिएर स्याटेलाइट बनाउने कुरा सोचेजस्तो सहज थिएन । यो यात्रा निकै चुनौतीपूर्ण रह्यो । चेपाङ विद्यार्थीले स्कुलको पढाइ, गृहकार्य र परियोजनाको जिम्मेवारीलाई सन्तुलन गर्नुपर्थ्यो । विद्यालय तहमा चलेको यस्तो परियोजना र नियमित पढाइलाई अगाडि बढाउन पनि सोचजस्तो सहज थिएन । बिहान स्कुलमा नियमित कक्षा पढ्थे, दिउँसो ४:३० देखि ६ बजेसम्म स्याटेलाइटको काम गर्थे । बेलुका स्कुलका गृहकार्य सक्थे ।
स्याटेलाइटको काममा यी ९ जना विद्यार्थीलाई सघाउन ६ जना मेन्टर थिए । उनीहरूले स्याटेलाइटका विभिन्न मिसनमा काम गरे । विद्यार्थी अमृतका अनुसार स्याटेलाइटमा चारवटा मुख्य मिसन छन् ।
पहिलो, क्यामेरा मिसन जसले पृथ्वीको सतहमा पानीको मात्रा र प्राकृतिक अवस्था अध्ययन गर्न सहयोग गर्छ ।
दोस्रो, इपिडियम मिसन जसले भूकम्प आउनुभन्दा केहीअघि पृथ्वीको सतहमा हुने स-साना हलचल पत्ता लगाउँछ ।
तेस्रो, एडिसीएस (एटिट्युड डिटर्मिनेसन एन्ड कन्ट्रोल सिस्टम) जसले चुम्बकको प्रयोगले स्याटेलाइटको दिशा नियन्त्रण गर्छ ।
र, चौथो, डिजिटिबिटर जसले सूचनाहरूलाई एक ठाउँबाट अर्को ठाउँमा प्रसारण गर्छ ।
यी मिसनहरूका लागि स्याटेलाइटमा अनबोर्ड कम्प्युटर, इलेक्ट्रोनिक पावर सिस्टम र कम्युनिकेसन सिस्टमजस्ता ‘बस सिस्टम’हरू राखिएको छ ।
यहीबीचमा विद्यार्थीले थ्रीडी प्रिन्टिङदेखि कोडिङसम्मका प्राविधिक कामहरू सिके । ‘हामीले विस्तारै कोडिङ र थ्रीडी चित्र बनाउन सिक्यौं,’ अमृतले भने, ‘सुरुमा सामान्य चित्र बनायौं, पछि थ्रीडी डिजाइनमा काम गर्यौँ ।’
यसरी १४ महिनाको अथक प्रयासपछि १५ असार २०८२ मा स्याटेलाइट निर्माण सम्पन्न भयो । यो स्याटेलाइट अब ग्राउन्ड स्टेसनमार्फत सञ्चालन हुने र डाटा संकलन गर्ने चरणमा छ । कम्प्युटर छुँदा पनि बिग्रेला कि भनेर डराउने यी विद्यार्थीले स्याटेलाइट बनाएकोमा अभिभावक आश्चर्यचकित छन् ।
शीतल प्रजा, सुहान प्रजा, सजिना चेपाङ, एलिसा प्रजा, बिनामाया प्रजा, शिवकुमार चेपाङ, सुमिना तितुङ, रानासिंह चेपाङ र अमृत राजा आफ्नो यो फड्कोबाट खुसी छन् ।
‘हामीलाई सुरुमा विश्वासै थिएन, हामी स्याटेलाइट बनाउन सक्छौं भनेर । झन् हाम्रो बुवा-ममीलाई यी कुरामा विश्वास नै थिएन । तर अहिले ‘तिमीहरूले साँच्चै त्यस्तो बनाएका हौ’ भन्नुहुन्छ,’ अमृतले सुनाए ।
गाउँकै स्कुलमा चेपाङ विद्यार्थीले स्याटेलाइट बनाउनु आफैँमा आश्चर्यजनक थियो । अभिभावकले त जीवनमा आफ्ना सन्तानले यस्ता काम गर्लान् भन्ने विश्वासै गरेका थिएनन् ।
शीतल प्रजा, सुहान प्रजा, सजिना चेपाङ, एलिसा प्रजा, बिनामाया प्रजा, शिवकुमार चेपाङ, सुमिना तितुङ, रानासिंह चेपाङ र अमृत राजा आफ्नो यो फड्कोबाट खुसी छन् ।
‘घरमा बुवा-आमाले त पत्याउनुभएको थिएन । पत्याउनु पनि कसरी ? अहिलेको अवस्थामा हाम्रो समुदायको नाम अन्तरिक्षसम्म पुग्ने कुरा अहिलेको लागि त सपनाजस्तै थियो नि,’ अमृतले भने ।
चितवनको ग्रामीण क्षेत्रमा बस्ने यी विद्यार्थीको पारिवारिक पृष्ठभूमि सामान्य छ । अधिकांश परिवारहरू चिउरी बेचेर र स-साना खेतीपाती गरेर जीविकोपार्जन गर्छन् । त्यसैले स्याटेलाइट बनाउँछौँ भनेर सुनाउँदा साथीहरूले समेत उडाए । जिस्क्याए । गाउँमा कसैको लागि यो कुरा विश्वसनीय थिएन ।












