रवि लक्षित कांग्रेसको टिप्पणी : भिजिट भिसामा विदेशिएर उतैको नागरिकता लिनेलाई पनि उपप्रधानमन्त्री बनायौं

रवि लक्षित कांग्रेसको टिप्पणी : भिजिट भिसामा विदेशिएर उतैको नागरिकता लिनेलाई पनि उपप्रधानमन्त्री बनायौं

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

९ साउन, काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा उच्च स्तरीय छानबिनको माग राखेर संसद्को गतिविधि बहिष्कार गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शैलीमाथि प्रश्न उठाएको छ ।

शुक्रबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपामाथि प्रश्न उठाएका हुन् ।

भिजिट भिसा प्रकरणलाई लिएर रास्वपाले झन्डै दुई महिनादेखि संघीय संसद्‍मा चिन्ता व्यक्त गरिरहेको भन्दै उनले यसमा चिन्ता नलिन आग्रह गरेका हुन् ।

‘धेरै चिन्ता व्यक्त नगर्नुस् । यो धेरै चिन्ता गर्न आवश्यक छैन,’ उनले भने ।


बरु रास्वपाका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उनले भिजिट भिसाको सन्दर्भमा एउटा अभ्यास गरिसकेको बताए ।

‘भिजिट भिसामा यहाँबाट बाहिर जाने त्यहीँको नागरिकता लिने त्यहीँ घरजम गरेर बस्ने केही समय पछि नेपाल फर्किने दुई चार वटा अरू काण्ड पनि मचाउने पार्टी खोल्ने त्यसपछि गृहमन्त्री अन्य विभिन्न मन्त्री हुँदै उपप्रधानमन्त्रीसम्म हुन सक्ने अभ्यास हामीले गरिसकेका छौं,’ घिमिरेले भने, ‘किन चिन्ता गर्नुहुन्छ ?’

फेरि यस्तो अभ्यास दोहोरिन सक्ने भन्दै उनले व्यङ्ग्य गरे । ‘भोलि भिजिट भिसामा जाने साथीहरूले पनि त्यही अभ्यास दोहोर्‍याउँला नि त । धेरै चिन्तित त्यसमा किन हुनुहुन्छ ?’ उनले भने ।

भिजिट भिसाको नाममा संसदीय गतिविधि बहिष्कार गर्ने व्यवहार देखेर आफूलाई आश्चर्य लागेको घिमिरेले बताए ।

‘मलाई त यसबाट पनि आश्चर्य लाग्या छ । जुन पार्टीको धेरै सांसदहरू धेरै नेताहरू यही भिजिट भिसाबाट आज यो ठाउँसम्म आइपुग्नुभएको छ र यो सफलताको श्रेणीमा उक्लिनु भएको छ । त्यही साथीहरूको भिजिट भिसाको विषयमा सबभन्दा बढ्ता चिन्तित भएको पाएको छु,’ घिमिरेले भने ।

पटक–पटक रास्वपा सभापति लामिछाने लक्षित अभिव्यक्ति दिए ।

‘भिजिट भिसामा गएर उतै घरजम गर्नु, उतैको नागरिकता लिनु पासपोर्ट लिनु निश्चय पनि अन्तर्राष्ट्रिय कानुनअनुसार पनि गलत कार्य हो । यो राम्रो कार्य होइन । यसलाई कुनै पनि देशले राम्रो भन्दैन । भिजिट भिसामा जानु भनेको घुम्न जाने हो र फर्केर आउने हो । अन्तर्राष्ट्रिय कानुनले पनि यही नै भन्छ,’ उनले भने ।

तर, नेपालमा भिजिट भिसामा विदेश जानेहरू फर्केर आएपछि पनि देशको नागरिकता लिएर उपप्रधानमन्त्रीसम्म बन्न दिएको उनको भनाइ छ ।

‘… विदेशी नागरिकता विदेशी पासपोर्टमा नेपाल फर्केर आएर यहाँ चाहिँ मन्त्री उपप्रधानमन्त्री विभिन्न मन्त्रीहरू बनाइसकेका छौं । त्यसले गर्दा यो अभ्यास चलिसकेको देशमा भिजिट भिसाको विषयमा धेरै ठूलो चिन्ता नगर्न साथीहरूलाई म आग्रह गर्दछु,’ घिमिरेले भने, ‘साथीहरूले छातीमा हात राखेर भन्नुस्– आज तपाईंहरूलाई यो ठाउँमा पुर्‍याउने भिजिट भिसाको धेरै चिन्ता किन गर्नु हुन्छ ?’

 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »