
माधवसँग तत्काल एकता चाहन्छन् प्रचण्ड, विप्लवलाई ‘नो इन्ट्री’
१४ साउन, काठमाडौं । गत शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच लामो भलाकुसारी भयो । प्रचण्ड निवास खुमलटारमा भएको उक्त भेटमा माओवादी अध्यक्ष प्रचण्डले समाजवादीका अध्यक्ष नेपालसँग पार्टी जतिसक्दो छिटो पार्टी एकता गर्न प्रस्ताव गरे ।
प्रचण्ड निकट एक नेताले अनलाइनखबरलाई दिएको जानकारी अनुसार, उक्त बैठकमा नेपाल पार्टी एकताका लागि उत्साहित भएका थिए । उनले आफू सकरात्मक भएको र पार्टीका अरू नेताहरूसँग छलफल गरेर फेरि बैठक बस्ने बताएका थिए ।
‘त्यस दिन उहाँहरूबीच निकै लामो अन्तरङ्ग कुराकानी भयो । दुवै अध्यक्षलाई आ-आफ्नो पार्टीमा परिरहेको संकट र पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयमा कुरा भयो’ प्रचण्ड निकट एक नेताले अनलाइनखबरलाई भने, ‘माधवजी एकताका लागि उत्साहित पनि हुनुभएको थियो । उहाँले साथीहरूसँग सल्लाह गरेर फेरि बसौंला भन्नुभएको थियो ।’
त्यसपछि प्रचण्ड र नेपालबीच आइतबार फेरि भेटवार्ता भयो । उक्त भेटमा भने अध्यक्ष नेपालले तत्काल पार्टी एकता गर्न भन्दा पनि कार्यगत एकता गरेर जान प्रस्ताव गरेका थिए । ‘अहिले माओवादीसँग एकता गर्दा भएका कार्यकर्ताहरू पनि एमालेमा फर्किन्छन् । बरू कार्यगत एकता गरौं,’ नेपालले प्रचण्डसँग भनेका थिए ।
भेटमा नेपालले समाजवादी मोर्चालाई नै बलियो बनाउन पनि अध्यक्ष प्रचण्डसँग प्रस्ताव गरेका थिए ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि प्रस्ताव गरेको बताए । ‘माओवादीबाट एकता गरौं भन्ने प्रस्ताव आएको छ । तर हामीले ठोस रूपमा छलफल निष्कर्ष गरेका छैनौं’ ज्वालाले अनलाइनखबरसँग भने, ‘बरू समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुन्छन् ।’
नेपालले कार्यकर्ताहरू एमालेमा फर्किने संभावना रहेका कारण तत्काल पार्टी एकता नगरौं भनेका थिए । त्यसपछि यी दुई अध्यक्षहरू समाजवादी मोर्चाको बैठक बोलाउन तयार भएका थिए । नेपालसँग दुई भेटवार्तापछि प्रचण्डले पार्टीमा आफू निकट नेताहरूलाई यसबारे ब्रिफिङ गरेका थिए ।
‘माधवजीसँग पार्टी एकता गरेर जाउँ भनेको हो । त्यसो गर्दा उहाँलाई नि सजिलो हुने थियो, तर भएका कार्यकर्ता पनि एमालेमा फर्किन्छन् भनेर मान्नुभएन’ प्रचण्डको भनाइ उद्धृत गर्दै ब्रिफिङ सुनेका ती नेताले अनलाइनखबरसँग भने, ‘माधवजीले कुरा बुझ्नुभएन । जानेहरू त अहिले पनि गइरहेकै छन् नि !’
तीन वर्षअघि पनि यी दुई पार्टीबीच एकता गर्ने तयारी भएको थियो । त्यसबेला दुवै पार्टीले एकताको प्रस्ताव तयार पार्न भन्दै कार्यदल पनि बनाएका थिए । तर त्यो कार्यदल कुनै टुंगोमा पुग्नुअघि नै निष्क्रिय बनेको थियो ।
यसपटक भने अध्यक्ष प्रचण्डले आफूले माधव नेपालसँग छलफल गर्नुअघि एकताबारे प्रयास गर्न उपाध्यक्ष कृष्णबहादुर महरालाई खटाएका थिए ।













