रोशन कार्कीले सांसदलाई खाली कागजमा हस्ताक्षर गराइयो भनेपछि सूर्य थापाको प्रतिवाद

रोशन कार्कीले सांसदलाई खाली कागजमा हस्ताक्षर गराइयो भनेपछि सूर्य थापाको प्रतिवाद

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

४ भदौ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदबीच नोकझोक चलेको छ ।

राप्रपाकी सांसद रोशन कार्कीले उपसभामुख इन्दिरा रानालाई हटाउन खाली कागजमा हस्ताक्षर गर्ने एमाले र कांग्रेसका सांसदहरूप्रति धिक्कार छ भनेपछि उनीहरूबीच भनाभन चलेको हो ।

सांसद कार्कीले कांग्रेस-एमालेप्रति लक्षित गर्दै उपसभामुखलाई हटाउन हिजो दिनभरि नौटंकी देखाइएको आरोप लगाइन् ।

उनले भनिन्, ‘कांग्रेस र एमालेहरूले आफ्ना माननीयहरूलाई खाली कागजमा सही गराएको खबर सुनियो । यो के-को लागि भन्दा उपसभामुखलाई महाअभियोग लगाउने रे । उहाँहरूलाई संवैधानिक परिषद्‌मा बहुमत पुगेन । बहुमत पुर्‍याएर आफ्ना आसेपासेलाई नियुक्ति गर्नका लागि उपसभामुखमाथि महाअभियोग लगाउने कुरा त्यहाँ चल्यो । कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई खाली कागजमा सही गराए । सही गराउने कस्तो पार्टी ? सही गर्ने कस्ता माननीयहरू ? धिक्कार होस् ।’

कार्कीले अगाडि भनिन्, ‘आफ्ना गृहमन्त्री जो भिजिट भिसाको धन्दा चलाइरहनुभएको छ, कमाउने भाँडो बनाउनुभएको छ । त्यसलाई चाहिँ बचाउने ? उपसभामुखले त एउटा सिफारिस मात्रै गर्नु भएको हो । त्यो पनि के-को लागि भन्दा केही समयका लागि अगाडि सार्ने सिफारिस थियो । त्यसमा यत्रा कुराहरू निकालेर महाअभियोग लगाउन हस्ताक्षर गरियो ।’

सांसद कार्की बोलिरहेकै समयमा एमाले सांसद सूर्य थापाले नियमापत्ति गरे । सभामुखले के कुरामा नियमापत्ति हो भन्दै सांसद थापालाई बोल्ने मौका दिए ।

सांसद थापाले भने, ‘यो संसद्‌मा हरेक माननीयज्यूले आफ्नो कुरा सार्वभौम ढंगले राख्न स्वतन्त्र हुनुहुन्छ । मैले नियम २१ घ अनुसार माननीय सदस्यज्यूको भनाइमा किन नियमापत्ति गरेको हुँ भने यो आरोपपूर्ण, लान्छनापूर्ण, गालीगलोजपूर्ण अपमानपूर्ण छ, यसलाई निषेधित गर्नुपर्छ ।’

सांसद थापाले अगाडि भने, ‘कस्ता कागजमा सही गराएको भन्ने ढंगको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्छ । हामी मण्डलेतन्त्रविरुद्ध लडेर यो संसद्‌मा आएका सार्वभौम जनताका प्रतिनिधिहरू हौं । हामी जनताबाट निर्वाचित सांसदहरू हौं । कस्तो कागजमा सही गर्छौं यो हामीले जानेर-बुझेर गर्छौं ।’

यसपछि सभामुखले सांसद थापाको भनाइप्रति ध्यानाकर्षण भएको जनाए ।

सभामुखले सांसद कार्कीलाई पुनः बोल्ने मौका दिए । सांसद कार्कीले एमाले र कांग्रेसले देशलाई दुई दलीय शासन पद्धतिमा लैजान खोजिरहेको आरोप लगाइन् ।

सत्तापक्षपटि बस्ने साना दलका सांसदहरूप्रति इंगित गर्दै उनले समयमै सचेत हुन आग्रह गरिन् । सचेत नहुने हो भने उपेन्द्र यादव र अरू पार्टीमाथि जुन प्रकारको आक्रमण भइरहेको छ, त्यो बाघले तपाईंहरूलाई पनि एक दिन खाने भन्दै सचेत हुन उनले आग्रह गरिन् ।

उनले भनिन्, ‘दुईदलीय शासन पद्धतिमा यो देशमा लैजान खोजिँदैछ । त्यसैको उपज स्वरूप उपसभामुखमाथि अविश्वासको प्रस्ताव ल्याउन खोजिएको छ ।’

कार्कीले भनिन्, ‘संवैधानिक परिषद्‌मा ५२ सिट खाली छ । विभिन्न प्रकारका सिटहरू खाली भइरहेको छ । त्यहाँ आफ्ना कार्यकर्ताहरू भर्ती गर्ने हो ।’ वास्तवमा नेपाली कांग्रेस र एमालेले संसद्को गरिमा गुमाएको उनको आरोप थियो ।



 

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »