संविधान संशोधनको बहस ठिक दिशामा अगाडि बढेको छैनः सन्तोष परियार

संविधान संशोधनको बहस ठिक दिशामा अगाडि बढेको छैनः सन्तोष परियार

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित
Facebook
X
Email
Telegram

११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनको बहस ठिक दिशामा अगाडि नबढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षाः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वर्तमान संविधान तुलनात्मक रूपमा प्रगतिशील भएपनि शक्ति संरचनामा निरन्तर प्रभुत्व कायम राख्न खोज्ने स्वार्थ समूहलाई मन नपरेको तर्क गरे ।

‘लगभग ७० वर्षदेखिको राजनीतिक दलहरूको निरन्तरको प्रयास, मेहेनत र उहाँहरूले खेल्नुभएको भूमिकाले आज हामीले तुलनात्मक रूपमा विगतका ६ वटा संविधानभन्दा यो महिलाको पक्षमा दलितको पक्षमा र मधेसको पक्षमा राम्रो संविधान पाएका छौं,’ उनले भने ।

उनले संविधानलाई अगाडि बढाउनेभन्दा पनि संशोधनको बहानामा पछाडि फर्काउने बहस छेडिएको उल्लेख गर्दै यसप्रति सचेत हुन आवश्यक रहेको पनि बताए ।

‘संविधानको राम्रो कुरा कतिपयलाई मन परिरहेको छैन । वर्चश्वशाली सधैं सत्ताशक्तिमा हुने र सधैं शक्ति संरचनामा रमाइलो गर्नेहरूलाई यो कुरा मन परिरहेको छैन’ उनले भने, ‘विभिन्न कोणबाट योमाथि संविधान संशोधनको नाउमा संविधानलाई अगाडि लैजानेभन्दा पनि पछाडि फर्काउने बहसहरू भइरहेको हो कि भन्ने सन्देह छ ।’

सांसद परियारले राजनीतिक दलहरूले संविधानको कार्यान्वयन नगरेको आरोप पनि लगाए ।

‘विद्वानहरूको निरन्तरको पहरेदारी भएन भने यही संविधानलाई पनि अझ पछाडितिर फर्काउने र आफ्ना निहीत स्वार्थ पूरा गर्ने, नेतृत्व तहको खास समूहको स्वार्थ पूरा गर्ने संविधानतिर जान्छ कि भन्ने मलाई डर छ,’ उनले भने ।

उनले थपे, ‘यो संविधान एउटा करार हो सबै पार्टीबीच भएको सम्झौता हो । त्योअनुसारको हाम्रो व्यवहार हुनुपर्ने हो कि नपर्ने ?’

संविधान अनुसार पार्टी र नेतृत्वको व्यवहार नहुँदा नेतृत्वको व्यवहार अनुसारको संविधान बनाइदिनुपरेको अवस्थामा नेपालमा देखा परेको उनले बताए । ‘यो आफैंमा षड्यन्त्रपूर्ण छ । होइनभने जुन किसिमको समानुपातिक व्यवस्था संविधानले गरेको हो त्यो कुरा पार्टीहरूले व्यवहारमा ल्याएनन् ।’

संविधानले गरेको समानुपातिक व्यवस्था दलहरूले कार्यान्वयन नगरेको उनको आरोप थियो ।



Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »