
सकुसल माडी : Gen-Z समूहको विद्रोह यसरी जोडियो विकासमा
२९ भदौ, चितवन । जेन-जी समूहको २३ र २४ गते गरेको आन्दोलनमा चितवनका सातमध्ये ६ वटा स्थानीय तहका भवन जले । प्रशासनिक निकायहरू अधिकांश तोडफोड, आगजनी र लुटपाटको निशानामा परेका छन् ।
जनप्रतिनिधि, राजनीतिक दलका अगुवाका घर पनि फोडिए, सामान पनि जलाइयो । यतिसम्म कि, यहाँका केही पत्रकारका घरसहित सञ्चारसंस्था समेत तोडफोड र आगजनी भए ।
आज आइतबारदेखि सेवा सञ्चालन गर्ने भनिए पनि जिल्ला मालपोत कार्यालय जस्ता कतिपय प्रशासनिक केन्द्र त केही महिना नै सेवा दिन नसक्ने गरेर क्षतिग्रत अवस्थामा पुगेका छन् । तर, जिल्लाको एक मात्रै स्थानीय तह माडी नगरपालिकाको भौतिक संरचनामा सानो चोट समेत लागेन ।
माडीमा प्रदर्शन नै नभएर भौतिक संरचना नभत्किएको भने होइन । यहाँका ५ सय बढी जेनजी समूहले २३ गते जिल्ला प्रशासन कार्यालयमा १ घण्टा हुने धर्ना कार्यक्रमलाई समर्थन गरे । केही युवा माडीबाट भरतपुर आएर उक्त कार्यक्रममा सहभागी पनि भए ।
२३ गते काठमाडौं तथा इटहरीमा प्रहरीको गोली लागेर आन्दोलनकारी मारिएपछि २४ गते बिहानैदेखि माडीका जेन-जी समूह पनि तात्तिए । प्रदर्शनका लागि लागि स्वस्फूर्त सडकमा निस्किए । जसको नेतृत्व गरेका थिए पदम पन्तले, उनीहरूलाई साथ दिन जेन वाई समूह पनि सडकमा आएको थियो ।
देशभर आगजनी र तोडफोडको खबर आइरहँदा माडीमा पनि आन्दोलनको तयारी भइरहेको थियो । माडी सानो नगरपालिका भएकोले स्थानीय जनप्रतिनिधि घरघरसँग चिनजान र सम्पर्कमा छन् । माडी नगरकी मेयर ताराकुमारी काजी महतोले पनि अगुवाइ गर्ने युवाहरूलाई सम्पर्क गरेर भर्खरै नागरिककै करबाट बनाइएको सरकारी भवन क्षति नगर्न शान्तिपूर्ण प्रदर्शन गर्न पटक-पटक अनुरोध गरेकी थिइन् ।
युवाहरू सडकमा आउने सूचना पाएपछि उनले सर्वपक्षीय बैठक बोलाइन् । बिहानै बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले जेनजीको आन्दोलनलाई समर्थन गर्ने, उनीहरूको आन्दोलनमा हस्तक्षेप नगर्ने तर भौतिक क्षति गर्न नदिन सम्झाउने निर्णय गर्यो ।
‘त्यति निर्णय अनुसार मैले चिनेका केही भाइहरूलाई फोन गरेर तपाइँहरू आन्दोलनमा हामी रोक्ने काम गर्दैनौँ । कहाँ प्रदर्शन गर्नुपर्छ बरु म चाबी दिन्छु तर बल्ल बल्ल हामीले आन्तरिक स्रोत जुटाएर बनाएको सरकारी भवनहरू चाहिँ नजलाउनुस् भनेर अनुरोध गरेँ’, मेयरले नेपाल प्रेससँग भनिन् ।
बिहान १० बजेसम्म सडक तातिसकेको थियो । उनीहरूले नगरपालिका पुगेर मेयर, उपमेयर, प्रशासकीय अधिकृतको कोठाको ताला फुटाएर भित्तामा झुण्ड्याइएको प्रधानमन्त्री र राष्ट्रपतिको फोटो झिके, फोडे र जलाए ।
त्यसपछि वडाहरूको पनि प्रधानमन्त्री र राष्ट्रपतिको फोटो झिके, फोडे र जलाए, माडी क्याम्पसमा राखिएको सबै राजनीतिक दलका विद्यार्थी संगठनको बोर्ड हटाए, राजनीतिक दलका पार्टी कार्यालयको बोर्ड निकालेर जलाइदिए ।
एउटा फेसबुक पोष्टले बदलेको आन्दोलनको स्वरुप
यो बीचमा जेन-जीको आन्दोलनलाई कसरी रचनात्मक बनाउने जेन-वाई पुस्ताले सँगसँगै छलफल गरिरहेका थिए । चारैतिरबाट चितवन राष्ट्रिय निकुञ्जले घेरेको माडी नगरपालिकाका नागरिकलाई भरतपुर सदरमुकाम जोडिने सडक राम्रो छैन ।
साँघुरो, कच्ची सडकमा आवतजावत गर्नुपर्दा सँधै माडीबासीले प्रश्न उठाउने र निकुञ्ज प्रशासनहुँदै अदालतसम्मले बाटो राम्रो बनाउन नदिने शिलशिला निकुञ्ज निर्माण भएदेखि नै चलिरहेको छ ।
निकुञ्जको सास्ती भोगिरहेका माडीका नागरिकलाई मूल समस्या माडीसम्म पुग्ने बाटो हो । आन्दोलन चलिरहँदा जेनजी पुस्तालाई साथ दिएका जेन वाइ पुस्ताले यो विषय कसरी जोड्न सकिएला भनेर हतारमा छलफल चलाइरहेको थियो ।
त्यसको समन्वय जेनजी आन्दोलनमा होमिएका विद्यार्थीले ज्यान गुमाएपछि एमाले परित्यागको घोषणा गरेका टीकाराम सुवेदी (टीआर सुवेदी), नेकपा माओवादी माडीका अगुवा सन्तोष पनेरु लगायतले गरिरहेका थिए ।
छलफलकै बीचमा सुवेदीले एउटा फेसबुक पोष्ट राखे ‘मेयर साब आजै निर्णय गर्नुस्, नगरपालिकाको स्रोत साधन प्रयोग गरेर भोलिबाटै जङ्गगलको बाटो पीच सुरु हुन्छ । नसक्ने हो भने मार्गप्रशस्त गर्नुस् ।’
हामी सबैले कसरी आन्दोलनमा क्षति हुन नदिने चर्चा गरिरहँदा मेरो त्यो पोष्टले सबैलाई विषयवस्तु मोड्ने बाटो दियो, युवाहरू नगरलाई दबाब दिन लाग्यौँ, सुवेदीले भने ।
त्यतिमात्रै होइन युवाहरूलाई समन्वय गरिरहेका अन्य युवाहरुले पनि निकुञ्जको कसरा हुँदै वनकट्टासम्म पुग्ने सडक कसरी राम्रो बनाउन सकिन्छ भन्ने एजेण्डामा सहमति जुटाए । माडीका माओवादी अगुवा युवा सन्तोष पनेरु भन्छन्, – म जेन–जी पुस्तासँगै मेयरसापसँग पनि निरन्तर संवादमा थिएँ । अन्ततः युवाहरूले पनि यो विषयम सहमति जनाए ।
आन्दोलनको अगुवाइ गरेका पन्तले जेन जी आन्दोलनले जसरी हुन्छ परिवर्तन चाहेको र दलहरूलाई बोर्ड जलाएर सुध्रिन चेतावनी दिएर निकुञ्ज हुँदै माडी पुग्ने बाटो स्तरउन्नतिको लागि दबाब दिन तयार भएको बताए ।
‘हामीले सार्वजनिक सम्पत्ति जोगायौँ, दलहरूको पनि बोर्ड जलाएर सुध्रिन चेतावनी दियौँ । मुख्य कुरा निकुञ्जको बाटो स्तरोन्नती गर्नु थियो त्यसमा आन्दोलन केन्द्रित गर्यौं ।’
तीन घण्टा भित्र विशेष नगरसभा, बाटो स्तरोन्नति गर्ने निर्णय
निकुञ्जको बाटो केन्द्रित आन्दोलन गर्ने ह्वीम भएपछि आन्दोलन गर्ने जेन-जी समूह नगरपालिकामा केन्द्रित भए । उनीहरूले मेयर र दलका स्थानीय अगुवाहरूलाई पनि सम्पर्क गरे । त्यसपछि तत्कालै नगरपालिका बैठक बसेर भरतपुर आवत जावत गर्ने सडकको काम अघि बढाउन दबाब दिए ।
नगरपालिकाले पनि युवाहरूको कुरा सुन्यो । तुरुन्तै मेयरले कार्यपालिका बैठक बोलाइन् । विशेष नगरसभा बोलाउने निर्णय भयो । माडीमा नै भएकाले नगरसभामा सबै सदस्य एकैछिनमा उपस्थित भए । एकघण्टा नगरसभा बसेर एकमतले केही ऐजेण्डा पास गरे ।
युवाहरूलाई कार्यपालिकाको निर्णय सुनाउँदै मेयर ।
जसमा २३ गते जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय गर्यो । दोस्रो नम्बरमा तत्कालै माडी नगरको मर्मतसम्भार कोषको ५० लाख रकमले सडक मर्मत गर्ने निर्णय गर्यो भने ९ वटा वडाको विकासको रकम र नगरको आन्तरिक आन्तरिक स्रोत गरि ५ करोड २५ लाख रूपैयाँ रकमान्तर गरेर सडक चौडा, स्तरोन्नति गर्ने लगायतका निर्णय पारित गरियो ।
मेयरले युवाहरूमाझ बैठकको निर्णय सुनाइन् । महतो भन्छिन्- हामीले जेन जीका कुरा सुन्यौँ । उहाँहरूले हामीलाई साथ दिनुभयो । माडीमा सबै जनता एक भयौँ । हामी अहिले सडक स्तरोन्नति गरिरहेका छौँ ।
माडीका पूर्वमेयर तथा बागमती प्रदेश सांसद ठाकुर ढकाल पनि सबै माडीबासीको आवश्यकताको विषय भएकोले माडीको आन्दोलन बुद्धिमतापूर्ण रुपले विकासको काममा अघि बढेको बताउँछन् । सबैको साथले माडीमा भौतिक क्षति हुन नपाएको उनीहरूको भनाइ छ ।












