
खराब लयमा रहेको वेस्ट इन्डिजविरुद्ध शृंखला जित्ने लक्ष्यमा नेपाल
१० असोज, काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोटको अन्तिम तयारीस्वरुप नेपालले भोलि शनिबारदेखि वेस्ट इन्डिजसँग टी-२०आई शृंखला खेल्दै छ ।
नेपालका लागि यो तयारी शृंखला मात्र नभएर ऐतिहासिक शृंखला नै हुनेछ । नेपाले आईसीसीको पुर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलोपटक हो ।
यसका अलावा नेपाललाई यस शृंखलामा अर्को इतिहास बनाउने अवसर पनि छ । नेपालले हालसम्म आईसीसीको पूर्ण सदस्यलाई टी-२०आईमा हराउन सकेको छैन ।
दुईपटकको विश्वविजेता वेस्ट इन्डिज पछिल्लो समय खराब लयबाट गुज्रिरहेकाले नेपाललाई यस इतिहास बनाउने सुनौलो अवसर हुनेछ । खेलसँगै शृंखला पनि जित्ने दाउमा नेपाल हुनेछ ।
वेस्ट इन्डिजको खराब लय
पावर हिटिङले परिचित वेस्ट इन्डिजको टोली पछिल्लो समय खराब लयमा छ । सन् २०२५ मा १२ वटा टी-२०आई खेलेको वेस्ट इन्डिजले २ वटा मात्र जितेको छ । पछिल्ला ८ खेलमा एउटा मात्र जितेको छ ।
जुनमा भएको इंग्ल्याण्डसँगको ३ खेलको टी-२०आई शृंखलामा सबै खेल हारेको वेस्ट इन्डिजले त्यसपछि आयरल्याण्डलाई हराउँदा अस्ट्रेलियासँग लगातार ५ हार बेहोर्यो भने पाकिस्तानसँग १ खेल जित्दा २ खेलमा हार बेहोरेको थियो ।
अर्कोतर्फ वेस्ट इन्डिजले यस शृंखलामा बलिङ विभागलाई सुधार गर्ने लक्ष्यसहित केही नयाँ खेलाडीहरूलाई पनि मौका दिएकाले यस हारको शृंखला तोडेर लयमा फर्कन नयाँ खेलाडीहरूले पनि राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ ।
नेपालको मिश्रित प्रदर्शन
यस शृंखला खेल्नुअघि नेपालको लय मिश्रित छ । नेपालले २०२५ मा ८ टी२०आई खेलेको छ जहाँ ४ खेल जित्दा २ मा पराजित भएको छ भने २ खेल नतिजाविहीन रह्यो ।
अप्रिलमा हङकङमा भएको चारदेशीय शृंखलामा नेपालले समूह चरणमा कतार र कुवेतलाई हराउँदा हङकङसँगको खेल वर्षाले रद्द भयो । उक्त शृंखलाको फाइनलमा नेपालले कुवेतसँग ३ रनको हार बेहोरेको थियो ।
यस्तै त्यसपछि स्कटल्याण्डमा भएको शृंखलामा नेपालले दुई खेल जित्दा एकमा स्पष्ट हार बेहोरेको थियो । एक खेल बराबरी भएर तीनपटक सुपर ओभरमा पुग्दा पराजित भएको थियो ।
नेपालले यस शृंखलाका लागि सन्दीप जोरा र मोहमम्द आदिल आलमलाई टोलीमा पुनरागमन गराएको छ जसले नेपालको मध्यक्रम बलियो बनाउने अपेक्षा गर्न सकिन्छ ।
कस्तो छ पिच ?
शारजाह क्रिकेट रंगशालाको पिच कन्डिशन विशेषत: बलरहरूका लागि उपयुक्त मानिन्छ । पुल शट र स्लग खेल्ने ब्याटरहरूका लागि छोटो बाउन्ड्रीले मद्दत पुग्न सक्छ ।
फ्लडलाइटमा खेल्दा सुरुवाती समयमा पेस बलरलाई केही मद्दत पुगेपनि बीचका ओभरहरूमा स्पीनरका लागि पिच सहयोगी बन्न सक्छ ।
शारजाह क्रिकेट रंगशाला
हाल भइरहेको एसिया कपमा ५ खेलहरू यस मैदानमा भएका छन् जहाँ पहिले ब्याटिङ गर्ने टिमले सबै खेल जितेका छन् । सुरुवातमा केही रन तीव्र रूपमा बनेपनि बलरहरूले पछि खेल नियन्त्रणमा लिन सक्ने देखिएको छ ।
पछिल्ला नतिजाहरू हेर्दा कप्तानले टस जितेर पहिले ब्याटिङ गरी राम्रो स्कोर खडा गर्न सके डिफेन्ड हुन सक्ने देखिन्छ । यद्यपी दोस्रो इनिङमा डियू पनि आउने हुँदा विपक्षीलाई कम स्कोरमा रोकेर चेज गर्नेबारेमा पनि कप्तानले सोच्न सक्छन् ।
प्रभाव पार्न सक्ने खेलाडीहरू
वेस्ट इन्डिजको लय खराब भएपनि तुलनात्मक रूपमा प्रभाव पार्न सक्ने खेलाडीहरू भने वेस्ट इन्डिजमा धेरै छन् । नेपालका लागि भने केही खेलाडीबाहेक अन्यले आफ्नो लय कायमै राख्न सक्नुपर्ने छ ।
वेस्ट इन्डिजका लागि जेसन होल्डर महत्वपूर्ण खेलाडी हुनेछन् । उनी ब्याटिङ र बलिङ दुवैबाट खेल जिताउन सक्ने अब्बल खेलाडी हुन् । त्यस्तै ब्याटिङमा ओपनर काइल मेयर्सको भूमिका अहम रहनेछ ।
त्यस्तै बलिङमा कप्तान अकिल होसेन वेस्ट इन्डिजको मुख्य हतियार हुन् । नेपालको टोलीमा एकजना मात्र बाँयाहाते ब्याटर रहेकाले दाँयाहाते ब्याटरका लागि अकिल घातक साबित बन्न सक्छन् ।
नेपालका लागि ब्याटिङमा कुशल भुर्तेल, कुशल मल्ल र आदिल आलमको भूमिका महत्वपूर्ण हुन सक्छ । भुर्तेलले ओपनिङमा गर्ने प्रदर्शनले नेपालको इनिङको आधार नै तय गर्नेछ । कुशल मल्लले मिडल ओभर र आदिलले फिनिसिङमा राम्रो गर्न सक्छन् ।
त्यस्तै बलिङमा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेको प्रदर्शन राम्रो हुने अपेक्षा गर्न सकिन्छ ।
के भन्छन् कप्तान ?
यस शृंखलाका लागि कप्तान रोहित पौडेलसहितको नेपाली टोली उत्साहित देखिएको छ । रोहितले टोलीमा सबैजनाको मनोबल उच्च रहेको र तयारी पनि धेरै राम्रो भएको बताउँदै खेल्न आतुर भएको उल्लेख गरेका छन् ।
यो सिरिज नेपालीहरूलाई खुसी बनाउने अवसर समेत रहेको कप्तान रोहित पौडेलले बताएका छन् । ‘हाम्रो लागि ऐतिहासिक अवसर त छ नै, नेपालीहरूलाई कसरी खुसी बनाउन सकिन्छ भन्ने अवसर पनि रहेको छ’ उनले भनेका छन् ।
कप्तान रोहितले वेस्ट इन्डिजसँगको शृंखलामा राम्रो गरेर त्यसपछि विश्वकपमा पनि छनोट हुने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नेपाल फर्कँदा विश्वकपमा छनोट भएर फर्कने बताए ।
‘सबैजना धेरै उत्साहित हुनुहुन्छ, वेस्ट इन्डिजलाई हराउन सक्यौं भने त्यसले एकदम राम्रो छाप छोड्छ विश्व क्रिकेटमा, सिरिज जितेपछि विश्वकपमा पनि छनोट हुनेछौं’ रोहितले भने ।
नेपाल र वेस्ट इन्डिजको खेल तालिका
पहिलो खेल : २७ सेप्टेम्बर (११ असोज)- बेलुका ८:१५
दोस्रो खेल : २९ सेप्टेम्बर (१३ असोज)- बेलुका ८:१५
तेस्रो खेल : ३० सेप्टेम्बर (१४ असोज)- बेलुका ८:१५
नेपालको टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम
वेस्ट इन्डिजको टोली : अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर













