१४ वर्षदेखि अलपत्र कन्काई पुल निरीक्षणमा मन्त्री घिसिङ

१४ वर्षदेखि अलपत्र कन्काई पुल निरीक्षणमा मन्त्री घिसिङ

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न विभागको निर्देशन
Facebook
X
Email
Telegram

२६ असोज, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ १४ वर्षदेखि अलपत्र झापाको कन्काई पुल निरीक्षणमा पुगेका छन् ।

हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई पुलको स्थलगत निरीक्षण गरी मन्त्री घिसिङले निर्माण प्रगतिबारे जानकारी लिए । उनले स्थानीयसँग छलफल समेत गरे ।

करिब ७ सय २३ मिटर लम्बाइको पुल ‘डिजाइन एन्ड बिल्ड’ ढाँचामा निर्माण गर्न आर्थिक वर्ष २०६७/६८ मा पप्पु महादेव खिम्ती संयुक्त उपक्रम (जेभी) सँग करिब ५१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणको भौतिक र वित्तीय प्रगति करिब ५५ प्रतिशतमात्र छ ।

लामो समयदेखि पुल अलपत्र पारिएको जानकारी आफूले पाएको उल्लेख गर्दै मन्त्री घिसिङले अब यसको विस्तृत अध्ययन गरी छिट्टै ठोस निकास निकालिने बताए ।

‘पुल निर्माण लामो समयदेखि अलपत्र पारिएको रहेछ, ठेक्का तोडेर नयाँ प्रक्रियामा जाने या के गर्ने, निर्माण व्यवसायीलाई के गर्ने भन्नेबारे तत्काल निर्णय लिने छौं,’ घिसिङले भने, ‘जनजीविकासँग जोडिएको रणनीतिक महत्त्वको पुल निर्माणलाई यथास्थितिमा राख्न सक्दैनौं, चाँडै निकास दिन्छौं ।’

स्थानीयबाट पुल नहुँदा सास्ती बेहोर्नुपरेको, व्यापार–व्यवसाय तथा पर्यटन प्रवद्र्धनमा समेत असर परेकाले पुल निर्माण तत्काल सम्पन्न गर्न माग गरिएको थियो ।

निर्माण व्यवसायीका तर्फबाट २०७६ सम्म काम गरिएको थियो । तर, निर्माणमा त्रुटी देखिएपछि त्यसको प्राविधिक परीक्षण गरिएको थियो । प्राविधिक परीक्षणबाट पुष्टि भएको त्रुटी सच्याउन निर्माण व्यवसायीबाट केही काम गरिएको थियो ।

ठेक्का सम्झौताको म्याद २०८० मै सकिएको छ । सार्वजनिक खरिद नियमावलीमा भएको पछिल्लो संशोधन बमोजिम निर्माण व्यवसायीबाट म्याद थपका लागि निवेदन दिइएको छ ।

हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार पुलका १९ स्पानमध्ये ८ वटा सकिएको छ भने बाँकी ११ मध्ये २ वटाको बिमसम्म (गर्डर) हालिएको छ । ६ वटाको जग हालिएको छ भने ३ वटाको जग हाल्न बाँकी छ ।

यसैगरी मन्त्री घिसिङले १८ र १९ असोजको अविरल वर्षाका कारण क्षति पुगेको झापा गाउँपालिका–२ स्थित कन्काई सानोमाई खोला पुलको पनि निरीक्षण गरे । बाढीका कारण उक्त पुल भाँचिएको थियो ।

उनले पुलको प्राविधिक परीक्षण गरी आवश्यक निर्णय लिन आग्रह गरे । मन्त्री घिसिङको टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, गृह सचिव रामेश्वर दंगाल, सडक विभागका महानिर्देशक विजय जैसी, झापा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी लगायत थिए ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »