
काठमाडौं । हास्यकलाकार प्रभात लामाले आफूले टिभी कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’मा पूर्वराजाको भूमिकामा अभिनय गर्दा राजावादीबाट धम्की आएको बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको ‘क्यारिकेचर’ गर्दा रिसाएर फोन र म्यासेज आएको उनले बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले पूर्वराजाको क्यारिकेचर गर्दा के कुुरा गलत भयो भनेर प्रश्न पनि गरेका छन् ।
‘तपाईंको राजा नआउदै यस्तो रवाफ देखाउनुहुन्छ भने साँच्चै राजा आएको दिन के गर्नुहुन्छ ? मलाई मेरो काम गर्न दिनुस् तपाई तपाईंको राजा ल्याउदै गर्नुस्’ उनले लेखेका छन् ।
जनजातिले पूर्वराजाको क्यारिकेचर गर्दा जातभातको कुरा गर्नु शोभनीय नभएको लामाले बताएका छन् । उनले अभिनयलाई मानमर्दनको रुपमा बुझ्न नहुने बताएका छन् ।

‘कुनैपनि शैलीको धाक धम्कीको भाषा प्रयोग नगरिदिनुहोला । कार्यक्रम केवल मनोरञ्जनको लागि तयार पारिएको हो’ प्रभातले लेखेका छन्, ‘राजनीतिक अभिष्ट पुरा गर्न, कसैलाई सकाउन वा बनाउन तयार पारिएको कार्यक्रम होइन । हेरेर मज्जाले हाँस्नुहोला । सुझाव चाहिँ दिँदै गर्नुहोला ।’
‘कमेडी नाइट विथ च्याम्पियन्स’को पछिल्लो एपिसोड मंगलबार हिमालय टिभीमा प्रसारण भएको थियो । उक्त एपिसोडमा प्रभातले पूर्वराजा शाहको भूमिकामा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा राप्रपा सांसद ज्ञानबहादुर शाही, नेतृ खुस्बु ओली र कानून व्यवसायी स्वागत नेपाल पाहुना बनेर पुगेका थिए ।
