
इलोन मस्कले ‘साँप’ भनेका व्यक्तिलाई ट्रम्पले बनाउन लागे भारतको राजदूत
७ भदौ, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूत र दक्षिण तथा मध्य एशिया दूतमा नियुक्त गर्न लागेको बताएका छन् ।
गोर अहिले ट्रम्प प्रशासनको ‘हेड अफ प्रेसिडेन्शियल पर्सनल अपोइन्टमेन्ट्स’ मा कार्यरत छन् ।
ट्रम्पले घोषणा गरेपनि गोरको नियक्तिलाई अमेरिकी सिनेटले पारित गर्न बाँकी छ ।
भन्सार शुल्क वृद्धिका कारण भारतसँग तनाव बढिरहेका बेला गोरलाई ट्रम्पले राजदूत बनाउन लागेका छन् । अमेरिकी दबावकै भारत र चीन समेत अस्वभाविकरुपमा नजिक भइरहेका छन् ।
आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘यो घोषणा गर्दै गर्दा मलाई खुशी लागिरहेको छ कि मैले भारतका लागि अमेरिकाको राजदूत र दक्षिण तथा मध्य एशिया मामिलाका लागि विशेष दूत नियुक्त गर्दैछु ।’
‘प्रेसिडेन्शियल पर्सनलको निर्देशकका रुपमा गोर र उनको टीमले महत्वपूर्ण समयमा हाम्रो संघीय सरकारको हरेक विभागमा लगभग ४ हजार अमेरिका फर्स्ट समर्थकलाई नियुक्त गरेका छन्, सिनेटबाट पुष्टि हुने बेलासम्म गोर आफ्नो विद्यमान भूमिकामै ह्वाइट हाउसमा रहने छन्,’ ट्रम्पले भनेका छन् ।
साथै ट्रम्पले गारे निकै लामो समयदेखि आफ्नो साथमा रहेको भन्दै उनी विश्वासपात्र भएको उल्लेख गरेका छन् ।
ट्रम्पले लेखेका छन्, ‘सर्जियो गोर मेरा असल साथी हुन्, जो धेरै वर्षदेखि मेरो साथमा छन् । उनले मेरा ऐतिहासिक राष्ट्रपति चुनाव अभियानमा काम गरे, मेरा सर्वाधिक बिक्री हुने पुस्तक प्रकाशित गरे र हाम्रो आन्दोलनलाई समर्थन गर्ने सबैभन्दा ठूलो सुपार पीएसी (नेतालाई प्रत्यक्ष नजोडिएर पनि धेरै पैसा खर्च गरेर समर्थन गर्ने राजनीतिक कोष) मध्ये एउटालाई सञ्चालन गरे ।’
संसारकै धेरै जनसंख्या भएको क्षेत्रका लागि विश्वासयोग्य पात्र पाएको ट्रम्पको तर्क छ ।
सर्जिओले आफ्नो एजेन्डा अगाडि बढाउनेमा ट्रम्प विश्वस्त देखिन्छन् ।
सजिर्योले पनि सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘राष्ट्रपति ट्रम्पले भारतका लागि आगामी अमेरिकी राजदूत र दक्षिण तथा मध्य एशिया मामिलाका लागि विशेष दूत प्रस्ताव गरेर म प्रतिशत विश्वास व्यक्त गर्नुभएको छ, त्यसका लागि म आभारी छु ।’ अमेरिकी प्रतिनिधित्व गर्नु आफ्ना लागि जीवनकै ठूलो सम्मान हुने उनको भनाइ छ ।
मस्कले गोरलाई भनेका थिए– साँप
ट्रम्पका निकट सहयोगी मानिने गोरको कार्यशैली विवादास्पद रहँदै आएको छ । यसै वर्षको सुरुवातमा टेस्ला र स्पेसएक्सका प्रमुख इलोन मस्कसँग ट्रम्पको विवादमा पनि गोरको भूमिका रहेको बताइन्छ ।
मस्कले गोरलाई ‘सर्प’ समेत भनेका थिए । अमेरिकामा कतिपयले गोरलाई ट्रम्पको ‘दाहिने हात’ भनेर समेत सम्बोधन गर्छन् ।
गोरले हजारौं प्रशासनिक नियुक्तिको छानबिन गरे पनि आफ्ना सुरक्षा स्वीकृति (सेक्युरिटी क्लियरन्स) सम्बन्धी कागजात बुझाउन ढिलाइ गरेको खबरआएको थियो । मनपरी निर्णय लिने गरेको भन्दै उनको आलोचना हुने गरेको छ ।
न्यूयोर्क टाइम्सका अनुसार गोरले ट्रम्पलाई मस्कका नजिकका व्यावसायिक सहयोगी जैरेड आइज्याकम्यानले डेमोक्रेटलाई चन्दा दिएको गुप्त सूचना दिएका थिए ।
मस्ककै सिफारिसमा ट्रम्पले आइज्याकम्यानलाई २०२४ को अन्त्यतिर नासाको प्रमुख बनाउने निर्णय गरेका थिए । गुप्त जानकारी पाएपछि ट्रम्पले आइज्याकम्यानको सीनेट नामांकन फिर्ता लिएका थिए ।
यद्यपि, आइज्याकम्यानले २०२४ कै एक बैठकमा ट्रम्पलाई यसबारे आफैं बताइसकेका थिए । ट्रम्पले भने आफूलाई पहिलोपटक थाहा पाएको दाबी गरेका छन् ।













