
गत महिना मात्रै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै स्मार्टफोनको घोषणा गर्दै आफ्नो पुरानो नारा ‘अमेरिकालाई पुनः महान बनाऔं’ (मेक अमेरिका ग्रेट अगेन) लाई दोहोर्याए । ट्रम्पको कम्पनीले ल्याएको पहिलो फोन ‘Trump T1’अमेरिकामै बनेको अर्थात ‘मेड इन यूएसए’ फोन रहेको दाबी गरिएको थियो। सो जानकारी फोनको आधिकारिक वेबसाइटमै दिइएको थियो ।
तर, अहिले उक्त विवरण वेबसाइटबाट हटाइएको छ। योसँगै अमेरिकामा बनेको भन्ने दाबी गर्ने ट्रम्पको कम्पनीको फोन यथार्थमा अमेरिकामा नबनेको पो हो कि भन्ने प्रश्न उठेको छ ।
ट्रम्प अर्गनाइजेशनले सुरु गरेको वायरलेस सेवा र फोन कम्पनी ट्रम्प मोबाइलले आफ्नो वेबसाइटमा कम्पनीको आगामी स्मार्टफोन T1 8002 अमेरिका मै बनेको हो भन्ने दाबी गरेको छैन ।
यसअघि ट्रम्पको मोबाइल अमेरिकामै बनेको उल्लेख गरिएकोमा गत २२ जुनतिर उक्त वेबसाइटमा भाषिक परिवर्तन गरिएको हो । जहाँ पहिले मेड इन यूएसए अर्थात् अमेरिकामा बनेको लेखिएकोमा अहिले त्यसलाई परिमार्जन गरी अमेरिकी मूल्यहरूलाई ध्यानमा राखेर डिजाइन गरिएको भनेर उल्लेख गरिएको छ ।
१८ जूनसम्मको वेबसाइटको पुरानो आर्काइभ भर्सन सिएनएनद्वारा लिइएका स्क्रिनसटहरूमा उक्त फोन अमेरिकामै बनेको हो भन्ने दाबी स्पष्ट देखिन्थ्यो । तर, यस्तो दाबीलाई वेबसाइटको भाषिक परिवर्तनले आफै खण्डित गरेको खुलासा सर्वप्रथम द भर्जले गरेको थियो ।
विशेषज्ञहरूले गरेका थिए सुरुवातमै शंका
प्रविधि उद्योगका विश्लेषकहरूले यसअघि नै फोनको ‘अमेरिकी उत्पादन’ माथि प्रश्न उठाएका थिए। उनीहरूका अनुसार T1 8002 को स्पेसिफिकेशन एकजना चिनियाँ निर्माताले बनाएको फोनसँग निकै मिल्दोजुल्दो देखिन्छ। यद्यपि ट्रम्प मोबाइलका एक प्रवक्ताले सिएनएनसँग बोल्दै T1 फोनहरू गर्वका साथ अमेरिकामा नै उत्पादन भइरहेको दाबी गरेका छन्। साथै त्यसको विपरित गरिएका सबै अड्कलहरू गलत र भ्रामक रहेका उनको जिकिर छ।
विवरणहरूमा विरोधाभास
यद्यपि कम्पनीले यसअघि सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा ४९९ अमेरिकी डलर पर्ने सुनौलो रङको फोन गर्वका साथ अमेरिकामा डिजाइन र निर्माण गरिएको उल्लेख छ।
गत १६ जुनमा ट्रम्प टावरमा गरिएको घोषणाको क्रममा ट्रम्प मोबाइल कम्पनीका साझेदार प्याट ओ’ब्रायनले आफूहरुले उक्त फोन अमेरिका मै बनाउने बताएका थिए । त्यस्तै एक अन्तर्वार्तामा ट्रम्पका सुपुत्र एरिक ट्रम्पले सबै फोनहरु अमेरिका मै बनाउन सकिने उल्लेख गरेका थिए । एरिकको सम्भावनायुक्त कथनले ट्रम्प मोबाइल अमेरिकामै बनेको दाबीमा अझ अस्पष्टता थपिदिएको छ ।
डिजाइन र ‘निर्माणको बीचको भिन्नता
इन्टरनेशनल डाटा कर्पोरेशनका उपाध्यक्ष रायन रीथका अनुसार ‘डिजाइन’ र ‘निर्मित’ भन्ने शब्दहरू धेरै जसो अस्पष्ट हुन्छन्। उदाहरणका लागि एप्पलले ले आफ्ना आइफोनहरू क्यालिफोर्नियामा डिजाइन गर्छ, तर ती फोनहरू चीन वा भारतमा अन्तर्राष्ट्रिय पार्ट्स प्रयोग गरेर तयार (असेम्बल) पारिन्छन् वा निर्माण हुन्छन्। ट्रम्प मोबाइलको वेबसाइटमा अझै पनि लेखिएको छ कि यो फोन अमेरिकामै प्राण भरिएको फोन हो (it’s brought to life right here in the USA) । तर, यसले स्पष्ट रूपमा उक्त फोन कहाँ बनेको भन्ने खुलाउँदैन। रीथका अनुसार वास्तवमा कुनै पनि स्मार्टफोन पूर्णरूपमा सुरु देखि अन्त्यसम्म अमेरिकामै बनाइँदैन ।
फोनको स्पेसिफिकेशनमा पनि फेरबदल
ट्रम्प मोबाइलको वेबसाइट अनुसार, T1 8002 को स्क्रिन साइजमा पनि परिवर्तन गरिएको छ। सुरुमा यसलाई ६.७८ इन्च भनिएको थियो, जुन अहिले घटाएर ६.२५ इन्च गरिएको छ ।
त्यति मात्रै होइन, वेबसाइटमा अब फोनको मेमोरी स्पेससम्बन्धी जानकारी पनि दिइएको छैन । जुन कुनै पनि एपको कार्यसम्पादन र मल्टिटास्किंगका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छ ।
चिनियाँ फोनसँग मिल्दो डिजाइन !
प्युरिज्म कम्पनीका सिइओ टड विभर र क्रिएटिभ स्ट्राटेजिकका विश्लेषक म्याक्स भिनबाखकाले सिएनएनसँगको कुराकानीमा ट्रम्पको उक्त मोबाइल फोनको प्रारम्भिक डिजाइन चिनियाँ कम्पनी विंगटेकद्वारा बनाइएको Revvl 7 Pro 5G सँग निकै मिल्दोजुल्दो छ। उक्त फोनको मूल्य केवल केवल १६९ अमेरिकी डलर छ र त्यो अमेजनमा उपलब्ध छ।
यो खुलासासँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मोबाइल अमेरिकामा निर्मित अर्था मेड इन यूएसए भन्ने दाबीमाथि झनै गम्भीर प्रश्नचिन्ह खडा भएको देखिन्छ ।












