कस्तो छ नेपालमा एन्टी डोपिङको अवस्था ?

१२ असार, काठमाडौं । विश्व खेलकुदमा एन्टी डोपिङको चर्चा धेरै भएपनि नेपालमा भने एन्टी डोपिङ बारे खासै धेरै चर्चा सुनिँदैन। नेपाली खेलाडी पनि डोपिङ परिक्षणमा असफल भइसकेका उदाहरण सार्वजनिक भइसकेपनि नेपालका सम्बनिधत निकायहरुले एन्टी डोपिङलाई अझै पनि गम्भिर (सिरियस) रुपमा लिन सकेका छैनन् ।\

विश्व खेलकुदमा अहिले ‘क्लिन स्पोर्ट्स’ भन्ने टर्म चर्चित रहेपनि नेपालमा भने एन्टी डोपिङको विषयमा न कुनै बहस भएको न त धेरै खेलकर्मीहरुलाई नै यसबारे जानकारी छ ।

पछिल्लो समय एन्टी डोपिङको विषयमा धेरथोर चर्चा सुनि थालेको छ । तर यसमा विषय विज्ञता हासिल गरेका व्यक्तिहरु निकै थोरै छन् ।

के हो एन्टी डोपिङ ? भन्ने बुझ्नुअघि सुरुमा डोपिङ के हो बुझ्नु जरुरी छ ।

सामान्य भाषामा भन्दा डोपिङ भनेको खेलाडीहरुले प्रदर्शन राम्रो बनाउनका लागि प्रतिबन्धित औषधी प्रयोग गर्नु हो । कुनै पनि खेलका खेलाडीले जानेर वा नजानेर त्यस्ता औषधीको प्रयोग गर्छन् । एन्टी डोपिङ भनेको यसको ठिक उल्टो हो ।

एन्टी-डोपिङ भनेको खेलकुदमा प्रतिवन्धित औषधि वा पदार्थको प्रयोगलाई रोक्ने प्रक्रिया भन्ने बुझिन्छ । यसको मुख्य उद्देश्य स्वच्छ, निष्पक्ष र स्वास्थ्यमैत्री प्रतिस्पर्धा सुनिश्चित गर्नु हो ।

खेलाडीहरुले शारीरिक क्षमता बढाएर आफ्नो प्रदर्शनलाई राम्रो वा असामान्य किसिमले उत्कृष्ट बनाउनका लागि (प्रतिबन्धित) औषधी प्रयोग गर्न थालेपछि अन्तर्राष्ट्रिय स्तरमै एन्टी डोपिङको अवधारणा सुरु गरिएको हो ।

सन् १९९९ मा वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा)को स्थापना भयो । नेपाल भने युनेस्कोको इन्टरनेशनल कन्भेन्सन एगेन्स्ट डोपिङ इन स्पोर्ट्सको सदस्य राष्ट्र हो । त्यसको सदस्य बनेको डेढ दशक भइसक्दा समेत एन्टी डोपिङ क्षेत्रमा नेपालमा उल्लेख्य काम भने हुन सकेको छैन ।

खेलकुदमा एन्टी डोपिङबारे सम्मेलनमा ऐतिहासिक उपस्थिति

युएईको दुबईमा भर्खरै भएको ‘खेलकुदमा एन्टी डोपिङ’बारे सम्मेलनमा नेपालले ऐतिहासिक उपस्थिति जनायो । २०औं एसिया-ओसियाना अन्तरसरकारी मन्त्रीस्तरीय सम्मेलनमा नेपालले इतिहासकै पहिलो पटक मन्त्रीस्तरीय तहमा उपस्थिति जनाएको थियो । उक्त सम्मेलनमा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भाग लिए ।

मन्त्री तेजुलाल चौधरीसँगै नेसनल एन्टी डोपिङ एजेन्सी (नाडा) नेपालका संयोजक डा असिम भण्डारीले नेपालको प्रतिनिधित्व गर्दै उक्त सम्मेलनमा सहभागिता जनाएका थिए । विश्व खेलकुदमा डोपिङविरुद्धको साझा प्रतिबद्धतालाई मजबुत बनाउने उद्देश्यसहित दुबईमा उक्त सम्मेलन आयोजना गरिएको थियो ।

एसिया-ओसियाना अन्तरसरकारी मन्त्रीस्तरिय सम्मेलनमा नेपालको ऐतिहासिक सहभागिता भएको र यसमा धेरै सकारात्मक कुरा रहेको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अनलाइनखबरसँग बताए । ‘सम्मेलनमा हामीले नेपालको एन्टी डोपिङको विषयमा आफ्नो विचार राख्न पायौँ । हाम्रो खेलाडीहरुको विषयमा कुरा राख्यौँ । सम्मेलन सकारात्मक रह्यो’ मन्त्री चौधरीले भने ।

यस्तै सम्मेलनमा नेपालको तर्फबाट एन्टी डोपिङको विषयमा कुरा राख्न पाएको र त्यसमा उहाँहरु सकारात्क रहेको मन्त्री चौधरीले जानकारी दिए । ‘हामीले एन्टी डोपिङ, शिक्षा र स्वास्थ्यको विषयमा कुरा राखेपछि उहाँले यो-यो काम गर्नु, यो कुरा सुधार गर्नु भन्नुभयो । त्यसपछि तपाईँहरुलाई हरेक सुविधा हामी दिन सक्छौं भनुभयो । त्यसमा उहाँहरु सकारात्मक हुनुहुन्छ’ उनले थपे ।

मन्त्री चौधरीले एन्टी डोपिङ सम्बन्धि ऐन कानुनहरु तयार हुन नसकेको त्यसमा काम गर्नुपर्ने बताए । ‘ऐन, नियमावलीहरु तयार हुन सकेको छैन । यो बनाएर व्यवस्थित रुपमा सञ्चालन गर्ने तयारी भएको छ’ उनले भने ।

यस्तै नाडा नेपालका संयोजक डा भण्डारीले पनि सम्मेलनमा नेपालको उपस्थिती ऐतिहासिक भएको र यसबाट नेपालले लिन सक्ने कुराहरु धेरै भएको बताए । ‘एसिया र ओसियाना क्षेत्रका धेरै व्यक्तिहरु सँग भेटघाट कुराकानी गर्ने अवसर पायौं । जुन नेपालका लागि सकारात्मक पक्ष हो’ उनले भने, ‘नेपालको एन्टी डोपिङमा गर्नुपर्ने कामहरु धेरै छन् । त्यसका लागि बजेट देखि लिएर आवश्यक जनशक्तिहरु चाहिन्छ’ उनले भने ।

डा. भण्डारीले एन्टी डोपिङमा नेपालको प्राविधिक प्रगति, एथ्लेट–केन्द्रित अभ्यास र क्षेत्रीय समन्वय प्रणालीबारे सशक्त प्रस्तुति दिएका थिए । उनको प्रस्तुतिमा देशका एन्टी डोपिङ एजेन्सीका प्रमुखहरूले समेत गहिरो चासो व्यक्त गरेका थिए ।

सम्मेलनमा मन्त्री चौधरीले वाडा अध्यक्ष विटोल्ड बान्का, उपाध्यक्ष याङ याङ र विभिन्न देशका खेलकुद मन्त्रीहरूसँग साइड छलफल समेत गरेका थिए । यी भेटघाटहरूमा नेपालको डोपिङविरुद्धको रणनीति, कानुनी सुधार तथा शिक्षामूलक अभियानहरूबारे जानकारी गराइएको थियो ।

सम्मेलनमा मन्त्री चौधरीले पहिले शिक्षा, त्यसपछि परीक्षण (एजुकेशन बिफोर डोपिङ) भन्ने वाडाको मूल नीतिप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका थिए ।

यस्तै नेपालले सुरु गरेको ई–लर्निङ प्लेटफर्म, शैक्षिक शिविरहरू, सामुदायिक क्याम्पहरू र अनलाइन मोड्युलहर मार्फत हजारौँ खेलाडी, प्रशिक्षक र अभिभावकहरूमा डोपिङसम्बन्धी चेतना फैलाउने कार्यको बारेमा पनि सम्मेलनमा जानकारी गराइएको थियो ।

सम्मेलनमा नेपालहसति एसिया-ओसियाना क्षेत्रमा ३२ राष्ट्रका प्रतिनिधिहरू र एन्टी-डोपिङ संस्थाहरूको सहभागिता थियो ।

सम्मेलनले १४ बुँदे दुबई घोषणापत्र समेत जारी गरेको छ । जसले खेलकुदमा डोपिङविरुद्धको अभियानमा राजनीति गर्न नहुने, स्वच्छ प्रतिस्पर्धा र नीतिगत पारदर्शिता कायम राख्नुपर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस्तै डोपिङ विरुद्धको सन्धिमा अफगानिस्तान (एसिया) र नियू (ओसियाना)लाई सामेल गराउन प्रोत्साहन गर्ने निर्णय समेत गरिएको छ ।

यस घोषणाले वाडाको २०२५–२९ रणनीतिक योजना, २०२७ को नयाँ विश्व डोपिङ आचारसंहिता तयारी, अन्तर्रष्ट्रिय मापदण्डहरुलाई समर्थन गर्दै तिनीहरुको कार्यान्वयन गर्न तयारीमा जोड दिएको छ ।

यस्तै राष्ट्रिय एन्टी-डोपिङ संस्था (नाडो) र क्षेत्रीय एन्टी डोपिङ संस्था (रेडो) को भूमिकालाई सशक्त बनाउने सहमति पनि गरिएको छ । साथै प्रत्येक देशले आफ्ना कानुनी संरचना अद्यावधिक गर्नुपर्ने उल्लेख गरियो ।

शिक्षामार्फत खेलाडी र सपोर्ट स्टाफहरुलाई प्रशिक्षण दिने, ‘पहिले शिक्षा दिनु, पछि नियन्त्रण’ भन्ने नीतिको प्रवर्द्धन गरियो ।

सन् २०२५ देखि २०२७ सम्म हुने अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमहरू जस्तै एसियन युथ गेम्स, एसियन गेम्स जस्ता अवसरहरुमा स्वच्छ खेल प्रवर्द्धनका लागि तयारी गर्न आह्वान।

यस्तै सम्मेलनले २०२६ को मे-जुनमा हुने २१औं सम्मेलनमा सहभागि हुन सबैलाई इनकरेज गर्दै सन् २०२७ मा २२औं बैठक माल्दिभ्सले आयोजना गर्ने इच्छा देखाएको त्यसको स्वागत समेत गरेको थियो ।

नेपालमा एन्टी डोपिङको अवस्था कस्तो ?

नेपाल वाडाको सदस्य राष्ट्र बनेको दशक भन्दा बढी भइसक्यो । तर नेपालमा अझै पनि एन्टी डोपिङ सम्बन्धि आवश्यक नीति, ऐन-कानुन, नियमावली प्रष्ट रुपमा बन्न सकेको छैन । यसमा बजेट पनि खासै छैन । दक्ष जनशक्ति थोरै छ ।

हाल नेपालमा नेसनल एन्टी डोपिङ एजेन्सी (नाडा) नेपाल छ । यसको संयोजकमा डा. असिम भण्डारी छन् । मन्त्रिपरिषदले २०८० माघमा उनलाई नियुक्त गरेको हो । च्यासलमा कार्यलय समेत स्थापना भएको छ । तर त्यसलाई सञ्चालन गर्ने आवश्यक कुराहरु छैन । जनशक्ति पूर्ण छैन । यस वर्ष बल्ल १ करोड बजेट विनियोजन भएको छ । यसले सकरात्मक संकेत देखाएपनि गर्नुपर्ने काम धेरै बाँकी रहेको डा. भण्डारी बताउँछन् ।

२०७७ सालमा जारी भएको खेलकुद विकास ऐन २०७७ मा नेपाल एन्टी डोपिङ एजेन्सी (नाडा) स्थापना गर्ने उल्लेख भएको थियो । त्यस अनुसार संस्थान स्थापना भइसकेको छ । त्यसअघि एन्टी डोपिङका लागि कार्यकारी समितिकै भरमा काम चलाइएको छ ।

यस्तै राष्ट्रिय खेलकुद विकास नियमावली २०७७ (प्रथम संशोधन २०८०) मा राष्ट्रिय एन्टी डोपिङ एजेन्सीको संरचना र सचिवालय स्थापना गर्ने, एजेन्सीको काम कर्तव्य र अधिकारीसम्बन्धि विषय समावेश गरिएको छ ।

खेलकुद नीति २०८० मा खेल चिकित्सा विज्ञान अन्तर्गत अन्तर्राष्ट्रिय अभिसन्धि अनुसार खेलकुदमा प्रतिवन्धित औषधी बारे गोष्ठी छलफलमार्फत खेलाडीमा चेतना अभिवृद्दी गर्ने तथा एन्टिडोपिङ टेष्टलाई सहज बनाउने भनेर उल्लेख गरिएको छ ।

हालै संसदमा पेश भएको ऐन संशोधन गर्न बनेको विधेयकमा एन्टी डोपिङ एजेन्सीलाई अझ स्वशासित र स्वायत्त संस्थाको रुपमा एजेन्सीलाई अघि बढाउन खोजीएको छ । वाडाको सदस्य राष्ट्र भएकोले त्यसको मापदण्ड अनुसार कार्यान्वयन पक्षलाई समेट्नुपर्ने भएकोले ऐनमै एन्टी डोपिङको विषयमा बलियो रुपमा राख्न लागिएको मन्त्री चौधरीले जानकारी दिए । संशोधनमा वाडा कम्प्लायन्स युनिटका सुझावहरू समावेश गरिएको मन्त्रीले जानकारी दिए ।

अन्तर्राष्ट्रिय स्तरमा मल्टी स्पोर्टिङ इभेन्ट र वर्ल्ड च्याम्पियनसिप एसियन च्याम्पियनसिप जस्ता खेलहरुमा सहभागिता जनाउन थालेपछि नेपाली खेलाडीमा पनि फाट्ट फुट्ट एन्टी डोपिङ बारे जान्न उत्सुकता बढ्न थालेको छ । जुन सकारात्मक हो । केही खेल संघका पदाधिकारीहरु पनि यस विषयमा जान्न उत्सुक देखिएका छन् ।

सचेतना आवश्यक

अझै नेपाली खेल क्षेत्रमा एन्टी डोपिङको विषयमा धेरै चर्चा भएको पाइदैन । नाडाका संयोजक डा. असिम भण्डारीले नेपाली खेलकुद ठूलो जोखिममा रहेको बताए ।

नेपालमा अझै पनि खेलाडी, प्रशिक्षकहरुमा डोपिङको ज्ञान कम भएको भण्डारी बताउँछन् । ‘अझै पनि नेपाली खेलकुदमा धेरैलाई यो विषयमा थाहा छैन । धेरेले चासो दिएका छैनन्’ उनले भने ।

खेलाडी मात्र होइन खेलकर्मी समेत यसमा सचेत हुनु जरुरी रहेको उनले बताए । ‘अहिले नेपालमा धेरै खेलसँग डक्टर छैन । फुटबल र क्रिकेटले राख्ने गरेको छ । त्यो खेलमा त अवस्था नाजुक छ भने झन् अरु खेलमा के होला’ उनले थपे । केही खेलका खेलाडीहरुले भने आफूलाई डोपिङबारे सोध्ने गरेको उनले बताए ।

युवा तथा खेलकुद मन्त्रालयले केही दिनअघि एन्टी डोपिङको विषयमा छलफल चलाएको थियो । त्यसमा मिसन २०२६ अन्तर्गत एसियन गेम्सको लागि विशेष तयारीमा रहेका खेलाडीहरु प्रशिक्षकहरु पदाधिकारी उपस्थित थिए ।

तर अधिकांश एन्टी डोपिङको बारेमा के औषधी प्रयोग गर्ने के प्रयोग नगर्ने भन्नेमा अन्योलमै थिएन । यो चिन्ताजनक स्थिति नेपाली खेलकुदमा रहेको डा. भण्डारी बताउँछन् । ‘डोपिङ बारे खेलाडी, खेलकर्मी सबैलाई सचेत गराउनुपर्छ । नभए नेपाली खेलकुद झन् ठूलो समस्यामा फस्न सक्छ’ उनले भने ।

विश्व खेलकुद क्लिन स्पोर्ट्स नीति बनाएर अघि बढ्दा नेपालमा भने डोपिङकै विषयमा बुझाउन सकिएको छैन । यसमा सम्बन्धित निकायहरु युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषदले नै आवश्यक पहल गर्न नसकेको जस्तो देखिन्छ ।

यस्तो अवस्थामा नेपाली खेलकुदमा खेलाडीहरु सुरक्षित छन् त भन्ने गम्भीर प्रश्न समेत खडा भएको छ । नेपाली खेलाडीहरुले कस्तो खालको औषधि प्रयोग गरिरहेका छन् ? कसको स्वीकृतिकमा औषधी प्रयोग गर्छन् ? त्यसको असर बारे कत्तिको जानकार छन् ? नेपाली खेलकुदलाई पनि क्लिन स्पोर्टमा रुपान्तरण गर्न के-के गर्नुपर्ला ? यी प्रश्नहरु नै मुख्य चुनौतीका रुपमा रहेका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा डोपिङ गरेको ठहर भएमा ठूलो रकम जरिवना समेत हुन सक्छ । यदि कुनै खेलाडीमा डोपिङ परिक्षण पोजिटिभ देखिएमा त्यसको जिम्मा खेलाडी, खेल संघ, राखेप मन्त्रालय वा सरकारले कसले लिने? यसलाई लिएर सककार युवा तथा खेलकुद मन्त्रालय राखेप कति सजग छ त?

२०७९ सालमा गण्डकीमा भएको नवौँ राष्ट्रिय खेलकुदमा पहिलो पटक डोपिङ परिक्षण पनि राखिएको भनेर ठूलै चर्चा भएको थियो । त्यसमा करिब ४० जनालाई डोपिङ परिक्षणका लागि नमुना संकलन गरिएपनि त्यसको नतिजा सार्वजनिक गरिएको छैन । परिक्षणमा केही पोजेटिभ नतिजा पनि आएकोले सार्वजनिक नगरिएको हुन सक्ने सम्बन्धि निकायका व्यक्तिहरुले भन्दै बएका छन् ।

नतिजा जस्तो आएपनि सार्वजनिक गर्दा त्यसले आगामी दिनमा खेलाडी र सम्बन्धित व्यक्तिहरु सचेत हुन सक्थे । तर यस्तो घटना लुकाउने काम गर्दा झन् समस्या बढ्दै जाने विज्ञहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »