
५९ वर्षीय छिमेकीबाटै हत्या, भारत भाग्दा २ महिनापछि खुल्यो रहस्य !
२१ मंसिर, विराटनगर। प्रहरीका लागि निकै चुनौतीपूर्ण बनेको अंशु गौतम हत्या प्रकरण दुई महिनापछि प्रहरीले सुल्झाएको छ ।
हत्याको दुई महिनापछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित जिल्ला प्रहरी कार्यालय मोरङ समेतको टोलीले हत्याका अभियुक्त पहिचान गरी पक्राउ गर्न सफल भएका छन् ।
मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया बालिका हत्या आरोपमा उनकै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ ।
कञ्चनपुरकी बालिका निर्मला पन्तकै जस्तो बलात्कार र हत्या भएको तर अभियुक्त पहिचानमा प्रहरी असफल भएको भन्दै तीव्र आलोचना भएको थियो ।
घटनाको दुई महिनापछि बल्ल यो प्रश्नको जवाफ प्रहरीले परिणामबाट दिएको छ । बालिका बेपत्ता भएको दुई महिना र शव भेटिएको ४४ दिनपछि छिमेकी पदमबहादुर पक्राउ परेका छन् ।
घाँस काट्न गएकाहरूले ७ कात्तिकमा बेलबारी–चिसाङ साझेदारी वनभित्र शरीर क्षत–विक्षत अवस्थामा अंशुको शव फेला पारेका थिए ।
घटनापछि ३०० जना बढीसँगको अनुसन्धानपछि पदमबहादुरलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कबित कटवालले जानकारी दिए । उनका अनुसार मृतक बालिका र पक्राउ परेका अधिकारी छिमेकी हुन् ।
कसरी भयो हत्या ?
गत २१ असोजमा दिउँसो अंशु छिमेकी समेत रहेकी साथी युरिका महतरासँग नजिकै रहेको स्कूलमा खेलिरहेकी थिइन् । दिउँसो करिब ३ बजे बालिका खेलिरहेको ठाउँमा पुगेका पदमबहादुरसँग युरिकाले पैसा मागिन् । युरिकालाई ५ रुपैयाँ दिएर त्यहाँबाट पदमबहादुरले पठाए ।
त्यसपछि अंशु एक्लै भइन् । अंशुलाई पदमबहादुरले घाँस काट्न सघाइदिन भन्दै फकाए । पैसा दिन्छु भनेपछि उनी घाँस काट्न सघाउनका लागि तयार भइन् । दिउँसो करिब ४ बजे पदमबहादुर साइकलमा हँसिया र डोरी बोकेर जंगलतर्फ लागे । जंगलको छेउमा भेट्ने सल्लाह थियो । बालिका पैदल जंगल छेउ पुगिन् ।
त्यसपछि पदमबहादुरले उनलाई साइकलमा राखेर जंगलभित्र लिएर गए । प्रहरीका अनुसार जंगलभित्र सुनसान स्थानमा घाँस काट्दै गर्दा उनले बालिकालाई शारीरिक सम्बन्धका लागि प्रयास गरे । तर, उनले मानिनन् । नमानेपछि जबरजस्ती करणी गरे । ‘जबरजस्ती करणीपछि हातले घाँटी थिचेर हत्या गरे । घाँटी थिच्दा बालिकाको मृत्यु भयो । तर, उनलाई शंका लाग्यो । त्यसपछि हँसियाले घाँटी रेटेको खुलेको छ।’ एक अनुसन्धान अधिकृतले भने ।
बालिकाको हत्यापछि शव घटनास्थलमै छाडेर उनी सामान्य अवस्थामा जस्तै गरी घाँसको भारी लिएर घर फर्किएका थिए ।
पदमबहादुर घर फर्किए । तर राति अबेरसम्म अंशुको अत्तोपत्तो भएन । आफैंले हत्या गरेका अंशुलाई खोज्न उनै पदमबहादुर अघि सरे । बालिका हराएको भोलिपल्ट परिवारले खोजीका लागि भन्दै प्रहरीमा निवेदन दिएका थिए।
अघिल्लो दिन नै जंगलमा लगेर हत्या गरेका पदमबहादुरले पनि बालिका खोजीका लागि आफन्तलाई सघाइरहे । बालिका भेटिन्छन् भन्दै उनी खोजीमा सक्रिय थिए । परिवारलाई पनि सान्त्वना दिन्थे ।
१८ दिनपछि प्रहरीले बालिकाको शरीर छुट्टाछुट्टै स्थानमा फेला पारेको थियो । उनले लगाएको कपडा पनि छुट्टाछुट्टै स्थानमा थिए ।
‘घाँस काट्ने बहानामा लिएर गएका थिए, जबरजस्ती करणीको प्रतिकार गर्दा बालिकाको ज्यान नै गएको देखिन्छ।,’ मोरङ प्रहरी प्रमुख कटवालले भने ।

