डोकोमा श्रीमती बोक्दै अस्पताल पुग्ने कम्मानेको गुनासो : चुनाव जितेपछि वाचा बिर्सिए

डोकोमा श्रीमती बोक्दै अस्पताल पुग्ने कम्मानेको गुनासो : चुनाव जितेपछि वाचा बिर्सिए

Facebook
X
Email
Telegram

५ वैशाख, धनगढी । पिठ्युँमा डोको र टाउकोमा दाम्लो। पसिनाले निथ्रुक्क भिजेको शरीर। निथ्रुक्क भिजेको पिठ्युँमा रोगले थला परेको अर्को शरीर छ। टाउकोको दाम्लो र पिठ्युँको डोकोको सहारामा बोकेर करिब साढे २ घण्टा लाग्ने दूरी पार गर्नुपर्ने बाध्यता छ।

यो कुनै फिल्म वा नाटकको दृश्य होइन । बरु एक दम्पतीले बाँचिरहेको बाध्यात्मक जीवनकथा हो। कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाका कम्माने दमाई (५०) ले यस्तै पीडामा बाँच्नुपरेको छ।

श्रीमती जमुना दमाई (४५) को मधुमेहले खुट्टा सुन्निएपछि उनलाई डोकोमै बोकेर सडकसम्म र त्यहाँबाट अस्पताल लैजानु कम्मानेको दैनिकी बनेको छ। दुई वर्षअघि मधुमेह रोग पहिचान भएको जमुनाको स्वास्थ्य अवस्था पछिल्लो समय निकै बिग्रिएको छ ।

सुन्निएको खुट्टा, सङ्क्रमण र घाउले जमुनालाई हिँडडुल गर्नै नसक्ने बनाएपछि उपचारका लागि श्रीमान् कम्मानेले उनलाई डोको र दाम्लोको सहारामा पिठ्युँमा बोकेर साढे दुई घण्टाको उकालो–ओरालो गर्नुपर्ने बाध्यता बनेको छ। मोहन्याल-३ को मुलेकाँणाबाट उनी एक्लै रोगले थला परेकी श्रीमतीलाई बोकेर फल्लेबिसौना पुग्छन्। श्रीमती बोकेर साढे दुई घण्टा हिँडेपछि मात्र उनी फल्लेबिसौना पुग्छन्, जहाँबाट मात्रै गाडी चढ्न पाइन्छ।

खुट्टा सुन्निएपछि हिँडडुल गर्न नसक्ने अवस्था बनेका कारण श्रीमतीलाई डोको र दाम्लोको सहाराले एक्लैले बोक्नुपरेको उनी सुनाउँछन्। ‘बुढीलाई यस्तो अवस्थामा उपचार नगरी छोड्न सकिँदो रहेनछ। उपचारकै लागि डोकोमा बोकेर आफैँ फल्लेबिसौनासम्म लैजान्छु,’ कम्मानेले भने, ‘गाउँका युवा जति सबै विदेश छन्। बुढापाकालाई के दुःख दिनु भनेर एक्लै बोक्ने गरेको छु।’

गाउँमा सहयोग लिनका लागि समेत मान्छे छैनन्। मुलेकाँणामा १५/१६ परिवार बस्छन्। अधिकांश युवा रोजगारीका लागि भारत गएका छन्। गाउँमा बुढापाका, महिला र बालबालिका मात्र छन्, जसले बिरामी बोक्न सक्ने अवस्था छैन। स्वास्थ्य चौकी टाढा छ, स्ट्रेचर भए पनि बोक्ने मान्छेको अभाव छ।

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »