तीन अङ्गको तालमेलले मात्र परिणाम आउँछ : सभामुख अर्याल

तीन अङ्गको तालमेलले मात्र परिणाम आउँछ : सभामुख अर्याल

Facebook
X
Email
Telegram

१६ असार, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका तीन प्रमुख अङ्गबीच कार्यगत एकता र गतिशीलता अपरिहार्य रहेको बताएका छन्।

६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार, संसद् र न्यायपालिकाको ‘गति र भावना’ एकै ठाउँमा मिल्नुपर्नेमा जोड दिए।

अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना नमिलेसम्म जनताको चाहनाअनुसारको परिणाम आउन नसक्ने बताए। तर, यसो गर्दा संविधानको अक्षरशः पालना र कानुनी राज्यको अवधारणालाई कुनै पनि हालतमा कमजोर बनाउन नहुने उनको भनाइ छ।

‘हामीसँग रहेको देश निर्माणको हुटहुटी, देशलाई द्रुत गतिमा समृद्ध बनाउने चाहना तथा जनजीविकाका सवालमा प्रभावकारी ढङ्गले काम गर्ने सङ्कल्पलाई सफल बनाउन कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका–यी तीनै अङ्गको गति र भावना एकआपसमा मिल्नुपर्छ,’ उनले स्पष्ट पारे।

सभामुख अर्यालले वैदेशिक रोजगारीको सिलसिलामा विश्वभर छरिएका नेपालीलाई स्वदेश फर्कन प्रेरित गर्ने वातावरण बनाउन सबै पक्ष सक्रिय हुनुपर्ने बताएका छन्। देशलाई साँच्चिकै बस्नलायक बनाउन र समृद्धिको अनुभूति गराउन नागरिक समाज र सरोकारवालाहरूले निरन्तर खबरदारी गर्नुपर्ने उनको भनाइ छ।

उनले भने, ‘कम्तीमा पनि अब नेपाल साँच्चिकै नेपाल बन्यो, नेपाल बस्नलायक बन्यो, हामी फर्किनुपर्छ भन्ने अनुभूति संसारभर विभिन्न देशमा बसिरहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा जगाउने वातावरण निर्माण गर्न हामी सबै लाग्नुपर्छ। यहाँहरूले हामीले बोलाएका यस्ता कार्यक्रममा मात्र होइन, अन्य समयमा पनि आफ्ना सुझाव, सल्लाह र खबरदारी दिइरहनुपर्छ।’

‘विकासका मुद्दा ओझेलमा पर्नुहुँदैन’

सभामुख अर्यालले संसद्मा कहिलेकाहीँ मर्यादाका विषयमा धेरै बहस हुँदा विकास, सुशासन र भ्रष्टाचार नियन्त्रण जस्ता प्रमुख एजेन्डा ओझेलमा पर्ने गरेको भन्दै चिन्ता व्यक्त गरे। अनावश्यक प्रक्रियागत जटिलतालाई चिर्दै भ्रष्टाचारमुक्त समाज निर्माणमा केन्द्रित हुनुपर्ने उनको जोड छ।

अग्रज पुस्ताको अनुभव र नयाँ पुस्ताको प्रविधिमैत्री ज्ञानलाई एकीकृत गरेर मुलुकलाई द्रुत गतिमा अघि बढाउन सकिने उनले बताए ।

‘अघिल्लो पुस्ताले हामीलाई यो देशमा लोकतान्त्रिक अभ्यास गर्ने र उच्चस्तरको राजनीति गर्ने अवसर प्रदान गर्नुभएको हो,’ सभामुख अर्यालले भने, ‘त्यसकारण उहाँहरूको सम्मान गर्दै उहाँहरूको अनुभवबाट हामीले सिक्नुपर्छ। त्यसैगरी, हामीभन्दा पछिल्लो पुस्ता, जसले हामीलाई पनि सिकाउन थालिसकेको छ, हामीभन्दा अझ अगाडि बढ्ने प्रयास गरिरहेको छ ।’

Advertist

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »