राजाजस्तो तानाशाही बन्न खोजेको भन्दै ट्रम्पविरुद्ध अमेरिकामा विशाल प्रदर्शन

राजाजस्तो तानाशाही बन्न खोजेको भन्दै ट्रम्पविरुद्ध अमेरिकामा विशाल प्रदर्शन

हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?
Facebook
X
Email
Telegram

२ असोज, काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली राजा जस्तो हुँदैगएको भन्दै अमेरिकामा विशाल प्रदर्शन भएको छ । राजधानी वाशिंटन डिसीसहित न्यूओर्क, सिकागो, मिआमी, लस एन्जलससहितका शहरमा सयौं नागरिकहरू ट्रम्पको नीतिविरुद्ध ‘नो किङ्स’ नामक विशाल प्रदर्शनमा उत्रिएका हुन् ।

शनिबार न्यूयोर्क सिटीको प्रसिद्ध टाइम्स स्क्वायर र वरिपरिका सडकहरू हजारौँ प्रदर्शनकारीले भरिएका थिए ।

‘डेमाक्रेसी नट मोनार्की’ अर्थात् राजतन्त्र होइन लोकतन्त्र र ‘द कन्सिच्युसन इज नट अप्सनल’ अर्थात् संविधान ऐच्छिक विषय होइन लेखिएका प्लेकार्डहरू बोकेर उनीहरूले राष्ट्रपति ट्रम्पको कार्यशैलीप्रति आक्रोश पोखेका थिए ।

प्रदर्शनअघि ट्रम्प पक्षधहरूले प्रदर्शनकारीहरूलाई अतिवामपन्थी ‘एन्टिफा’ आन्दोलनसँग जोड्दै अमेरिकाविरोधी र्‍यालीको संज्ञा दिएका थिए ।

प्रदर्शनलाई मध्यनजर गर्दै प्रायजसो सबै राज्यमा राष्ट्रिय सुरक्षा बल (नेशनल गार्ड) तयारी अवस्थामा राखिएको थियो । यद्यपि प्रदर्शन शान्तिपूर्ण भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

जनवरीमा ह्वाइट हाउसमा फर्किएपछि ट्रम्पले राज्य प्रमुखहरूको विरोधका बाबजुद कार्यकारी आदेशमार्फत् संघीय सरकारका केही निकाय विघटन गर्दै अमेरिकाका प्रमुख शहरहरूमा नेशनल गार्ड परिचालन गरेका छन् ।

आफ्ना राजनीतिक शत्रुहरूलाई कानूनी कारबाहीमा तान्न प्रशासनका उच्च अधिकारीहरूलाई ट्रम्पले निर्देशन समेत दिएको बताइन्छ ।

ट्रम्पले आफूलाई ‘तानाशाह’ वा ‘फासिस्ट’ को आरोपलाई खारजे गर्दै देश पुनर्निर्माणका लागि यस्तो कदम चाल्नुपर्ने बताउँदै आफ्नो बचाउ गर्ने गरेका छन् ।

तर उनका आलोचकहरूले यी कदमहरू असंवैधानिक र अमेरिकी लोकतन्त्रका लागि खतरा भएको चेतावनी दिँदै आएका छन् ।

शनिबारको प्रदर्शनको सन्दर्भमा अमेरिकी टेलिभिजन फक्स न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफू राजा नभएको प्रतिक्रिया दिए ।

‘म राजा होइन,’ उनले भने, “तिनीहरू मलाई राजा भन्छन्, तर यो कुनै अभिनय होइन ।’

न्यूयोर्कमा ‘दिस इज ह्वाट डेमोक्रेसी लुक्स लाइक’ अर्थात् यही हो लोकतन्त्रको रूप भन्ने नारासहित भीडले सडक गुञ्जामान बनाएको थियो ।

शहरभर करिब १ लाखभन्दा बढी मानिस भेला भएको न्यूयोर्क प्रहरी विभाग –एनवाईपीडी) ले जनाएको छ । तर, कसैलाई पनि पक्राउ नगरिएको विभागले भनेको छ ।

एक जना प्रहरी अधिकारीका अनुसार टाइम्स स्क्वायर वरिपरि मात्रै २० हजारभन्दा बढी मानिस ७औं एवेन्यू हुँदै जुलुसमा सहभागी थिए ।

प्रदर्शनमा सहभागी लेखक बेथ जास्लोफले भनिन्, ‘हामी फासिस्ट शासनतर्फ जाँदैछौँ भन्ने डरले म यहाँ आएको हुँ । मलाई यो शहरको माया लाग्छ, र यस्ता हजारौँ मानिससँग हुनु आशाको कुरा हो ।’

६८ वर्षका इटालीका मूलका अमेरिकी नागरिक मास्सिमो मास्कोलीले भने, ‘अमेरिका पनि इटालीले विगतमा लिएको गलत बाटोमा हिँड्दैछ ।’

उनले ट्रम्प प्रशासनको आप्रवासन नियन्त्रण नीति र स्वास्थ्य सेवामा कटौतीबारे चिन्ता व्यक्त गरे ।

राजधानी वाशिङ्टन डीसीमा भएको प्रदर्शनमा पनि हजारौँको सहभागिता थियो ।

एक प्रदर्शनकारीले ‘आई एम एन्टिफा’ (फासिवादविरोधी) लेखिएको प्लेकार्ड बोकेका थिए । ७६ वर्षका चक एप्सले भने, ‘एन्टिफा’ भन्ने शब्दलाई गलत बुझाइएको छ । यसको अर्थ न्याय, स्वास्थ्य सेवा र मानव अधिकारको पक्षमा उभिनु हो ।’

प्रदर्शनमा सहभागी सिनेटका अल्पमत नेता चक शुमरले अमेरिकामा कुनै पनि तानाशाही स्वीकार्य नहुने भन्दै राष्ट्रपति ट्रम्पले लोकतन्त्र कमजोर पार्न खोजेको आरोप लगाए । प्लेकार्ड बोकेरै प्रदर्शनमा उत्रिएका उनले भने, ‘अमेरिकामा कुनै तानाशाह हुँदैन, र हामी ट्रम्पलाई लोकतन्त्र कमजोर पार्न दिँदैनौँ ।’

भर्मन्टका सिनेटर बर्नी स्यान्डर्सले वाशिङ्टनमा हजारौँको भीडलाई सम्बोधन गर्दै आफूहरू अमेरिकाविरोधी नभएको बताउँदै अमेरिकाप्रतिको मायाका कारण सडकमा आएको बताए ।

सिनेटर कोरी बुकर र एडम सिफले पनि देशभरका प्रदर्शनकारीलाई धन्यवाद दिँदै भिडियो सन्देश जारी गरेका थिए ।

सिनेटर क्रिस मर्फीले आफ्नो राज्य कनेक्टिकटमा भएको विशाल भीडको भिडियो पोस्ट गर्दै लेखेका छन्, ‘अविश्वसनीय दृश्य– सम्भवत: देशको २५० वर्षे इतिहासकै सबैभन्दा ठूलो शान्तिपूर्ण प्रदर्शन ।’

प्रदर्शनका दौरान कयौँ सत्तारुढ रिपब्लिकन गभर्नरहरूले नेशनल गार्ड तयारी अवस्थामा राखेको देखेर टेक्सासका शीर्ष डेमोर्क्याट जीन वूले शान्तिपूर्ण प्रदर्शनमा सशस्त्र सेना पठाउनु तानाशाहको काम भन्दै कडा शब्दमा आलोचना गरे । टेक्सासका गभर्नर ग्रेग एबटले त्यसैको प्रमाण दिएको उनको आरोप छ ।

भर्जिनियाका रिपब्लिकन गभर्नर ग्लेन यङ्किनले पनि नेशनल गार्ड सक्रिय राखेका थिए। तर, स्थानीय रिपोर्टअनुसार सैनिकहरू प्रदर्शनस्थलमा देखिएनन् ।

अमेरिकामा प्रदर्शन भएसँगै युरोपका शहरहरू बर्लिन, म्याड्रिड र रोममा पनि विरोध र्‍यालीहरू देखिएका थिए ।

लन्डनमा सयौँ प्रदर्शनकारी अमेरिकी दूतावासबाहिर भेला भएका थिए । क्यानडाको टोरन्टोमा पनि ‘ह्यान्ड्स अफ क्यानडा’ लेखिएका प्लेकार्डसहित सयौँले अमेरिकी दूतावास नजिक प्रदर्शन गरे ।

अमेरिकी जनमतको सर्वेक्षण गर्दै आएका समाचार संस्था रोयटर्स र इप्सोसले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार ट्रम्पको स्वीकृति दर हाल ४० प्रतिशतमा खुम्चिएको र ५८ प्रतिशत नागरिक उनीसँग असन्तष्ट छ ।

यो उनको पहिलो कार्यकालको औसत लोकप्रियतासँग मिल्दोजुल्दो भए पनि जनवरीमा दोस्रो कार्यकाल सुरु गर्दा रहेको ४७ प्रतिशतभन्दा कम हो ।

सर्वेक्षणअनुसार अमेरिकी इतिहासमा अधिकांश राष्ट्रपति कार्यकाल बित्दै जाँदा अलोकप्रिय बन्दै गएका छन् ।

सन् २०२१ जनवरीमा जो बाइडेनको समर्थन दर ५५ प्रतिशत थियो, जुन त्यही वर्षको अक्टोबरमा घटेर ४६ प्रतिशतमा झर्‍यो ।

Advertist

ताजा समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »