
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। शनिबार काठमाडौंमा बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
गत साउन ६ गते एमालेले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा छन्। संवैधानिक व्यवस्थाअनुसार उनले भदौ ४ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ।
सरकार टिकाउन मुख्यमन्त्री बानियाँलाई कांग्रेसबाहेक अन्य साना दलको समर्थन आवश्यक पर्ने देखिएको छ। एमालेले कांग्रेससँगको गठबन्धन तोडेर नेकपासँग नयाँ गठबन्धन बनाएपछि बागमतीमा नयाँ सरकार गठनको समीकरणसमेत अन्योलमा परेको छ।
कांग्रेस संसदीय दलका सचिव मीनकृष्ण महर्जनका अनुसार विश्वासको मत लिनुभन्दा एक दिनअघि नै हेटौंडा पुग्न सांसदहरूलाई ह्विप जारी गरिएको छ।
बैठकले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत जुटाउन कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेतासँग छलफल गर्ने निर्णय पनि गरेको छ। साथै, अन्य दलका नेताहरूसँग समन्वय र छलफल गरी सरकारलाई आवश्यक समर्थन जुटाउने तयारी कांग्रेसले गरेको छ।
