
नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले शनिबार एनपीएलको तेस्रो संस्करणको मिति सार्वजनिक गरेको हो ।
क्यानका अनुसार प्रतियोगिता कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ । क्यानका सचिव पारस खड्काले विज्ञप्ति जारी गर्दै एनपीएल अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने जानकारी दिए ।
एनपीएलका लागि खेलाडी छनोटको अक्सन यसअघि नै सम्पन्न भइसकेको छ । अहिले विभिन्न टोलीले विदेशी खेलाडी अनुबन्ध गर्ने क्रम जारी राखेका छन् ।
यसपटक एनपीएलको मिति दशैँ र तिहारको बीचमा परेको छ । यसअघि एनपीएल तिहारपछि मंसिरमा आयोजना हुँदै आएको थियो ।
प्रतियोगिताको मिति सार्वजनिक भए पनि खेलतालिका भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । क्यानले तिहारका दुई दिन बाहेक अन्य दिनमा खेल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
