आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ। देशभर सामान्यतया बदली रहेको छ भने विभिन्न प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रमा केही स्थानमा वर्षा तथा हिमपात र पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका विभिन्न क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भाग तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना छ भने कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ।

रातिको समयमा कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र तथा बागमतीको पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, पर्यटन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सावधानी अपनाउनसमेत अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »