
नेपालगन्जमा खाना पकाउने ग्यास लुकाएर राखेको पाइएपछि एक किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा खटिएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरमा अनुगमन गर्दा १३ वटा ग्यास सिलिन्डर लुकाएर राखेको अवस्थामा फेला पारेको हो।
ग्यास लुकाएर राखेको सूचना पाएपछि अनुगमनमा पुगेको टोलीले सिलिन्डर बरामद गरेको गुरुङले जानकारी दिए। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको हो।
अनुगमनका क्रममा पसलबाट अखाद्य सामग्रीसमेत फेला परेको जनाइएको छ। बजारमा खाना पकाउने ग्यासलगायत उपभोग्य सामग्रीको अभाव र अनियमितताको गुनासो बढेपछि स्थानीय प्रशासनले केही दिनयता बजार अनुगमनलाई तीव्रता दिएको छ।
नेपालगन्जलगायत क्षेत्रमा केही दिनदेखि खाना पकाउने ग्यासको अभाव देखिँदै आएको छ।
