
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको साम्प्रदायिक तनावपछि जिल्लामा धार्मिक सद्भाव कायम गर्न सार्वजनिक स्थानमा राखिएका धार्मिक तथा साम्प्रदायिक झण्डा हटाउने सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबार प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको अध्यक्षतामा बसेको विभिन्न धर्मका गुरु तथा प्रतिनिधिको बैठकले सार्वजनिक स्थान र सडकमा राखिएका एकल जातीय, धार्मिक तथा साम्प्रदायिक पहिचान झल्काउने झण्डा हटाउने निर्णय गरेको हो।
बैठकले सार्वजनिक स्थानमा सर्वसाधारणलाई अवरोध हुने गरी स्वीकृतिबिनै डिजे तथा माइक बजाउन नपाइने सहमति पनि गरेको छ। धार्मिक स्थल तथा कार्यक्रममा प्रवचन, प्रार्थना, भजन वा गीत बजाउँदा सरकारले तोकेको ध्वनि मापदण्ड पालना गर्नुपर्नेछ।
सहरी आवास क्षेत्रमा दिउँसो ५५ र राति ५० डेसिबल तथा ग्रामीण क्षेत्रमा दिउँसो ४५ र राति ४० डेसिबलभन्दा बढी ध्वनि निकाल्न नपाइने व्यवस्था कार्यान्वयन गरिने प्रशासनले जनाएको छ।
साउन १० गते डिजे बजाउने विषयमा दुई समुदायबीच भएको विवाद र झडपमा तीन जनाको मृत्यु भएपछि जिल्लामा साम्प्रदायिक तनाव बढेको थियो। घटनापछि धार्मिक अगुवाहरूले आ–आफ्ना समुदायका सदस्यलाई शान्ति, सद्भाव र संयम कायम गर्न आग्रह गर्ने निर्णयसमेत गरेका छन्।
प्रशासनको अपिलअनुसार मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बा परिसर र निजी घरबाहेक सार्वजनिक स्थानमा राखिएका एकल जातीय, धार्मिक तथा साम्प्रदायिक पहिचान झल्काउने झण्डा–ध्वजापताका हटाउन सबै पक्षले सहयोग गर्ने सहमति भएको छ।
तीन जनाको मृत्यु
कप्तानगञ्ज घटनामा देवानगञ्ज–४ का ओमप्रकाश मेहताको साउन १० गते, देवानगञ्ज–३ का जयप्रकाश मेहताको साउन १५ गते र गोली लागेर घाइते भएका रविन्द्रकुमार मेहताको साउन १९ गते उपचारका क्रममा मृत्यु भएको थियो।
घटनापछि सरकार र पीडित परिवारबीच मृतकलाई सहिद घोषणा गर्ने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत दिने तथा परिवारका एक सदस्यलाई रोजगारी उपलब्ध गराउने सहमति भएको छ। कोशी प्रदेश सरकारले मृतक परिवारलाई थप २ लाख रुपैयाँ र घाइते तथा आगजनीबाट प्रभावित परिवारलाई ५० हजार रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ।
धार्मिक अगुवाहरूको बैठकले राहत तथा क्षतिपूर्तिसँगै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन धार्मिक समुदायबीच आपसी सम्मान, संवाद र सहकार्यलाई बलियो बनाउने प्रतिबद्धता जनाएको छ।
