नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग साउनभित्रै खुलाइने

सडक विभागले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउन महिनाभित्रै सर्वसाधारण तथा सार्वजनिक यातायातका लागि खुला गर्ने जनाएको छ।

हाल सुरुङमार्ग आकस्मिक तथा आपत्कालीन सवारीसाधनका लागि मात्र सञ्चालनमा रहेको छ। सर्वसाधारणका लागि खुला गर्नुअघि अन्तिम सुरक्षा परीक्षण भइरहेको सडक विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई. शुभराज न्यौपानेले जानकारी दिए।

उनका अनुसार सुरुङभित्र कुनै आपत्कालीन अवस्था सिर्जना भएमा यात्रुको उद्धार कसरी गर्ने भन्ने विषयमा सुरक्षा परीक्षण भइरहेको छ। विशेषगरी ठूलो संख्यामा यात्रु बोकेको बसमा आगलागी भएमा यात्रुलाई सुरक्षित रूपमा उद्धार गर्ने अभ्यासलाई परीक्षणको मुख्य विषय बनाइएको छ।

‘अहिले सुरुङमार्गमा आकस्मिक सवारीसाधनका लागि मात्र आवतजावत खुला गरिएको छ। सबैका लागि सञ्चालन गर्नुअघि अन्तिम सुरक्षा परीक्षण भइरहेको छ,’ न्यौपानेले भने।

सुरुङमार्गमा ब्यारिकेड तथा ड्रम राखिएका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन्। ती सामग्री सुरक्षा परीक्षण तथा आवश्यक तयारीका लागि राखिएको विभागले जनाएको छ।

अन्तिम सुरक्षा परीक्षण सम्पन्न भएपछि सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिनेछ। त्यसका लागि साउन महिनाभित्रैको समयसीमा तय गरिएको प्रवक्ता न्यौपानेले बताए।

सात वर्षपछि निर्माण सम्पन्न भएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग साउनको दोस्रो साता औपचारिक रूपमा उद्घाटन गरिएको थियो। विशेष समारोहबीच पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गरिएको हो।

सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यकाको प्रवेशद्वारमा हुने सवारी चाप व्यवस्थापन, यात्रा समय बचत तथा सुरक्षित र आधुनिक सडक पूर्वाधार विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »