दैनिक ५ हजार बढी इ–पासपोर्ट उत्पादन

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) उत्पादन क्षमता उल्लेख्य रूपमा बढाएको छ। विभागले साउन २५ गते एकैदिन ५ हजार ८७८ वटा इ–पासपोर्ट उत्पादन गरेको जनाएको छ।

यसअघि दैनिक करिब १ हजार ५०० राहदानी उत्पादन गर्दै आएको विभागले बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गरेको हो। पछिल्लो समय विभागले दैनिक ५ हजारभन्दा बढी इ–पासपोर्ट उत्पादन गर्न थालेको जनाएको छ।

नेपाली नागरिकलाई सहज, छिटो, सुरक्षित र प्रभावकारी रूपमा राहदानी उपलब्ध गराउने उद्देश्यले सेवा प्रणाली तथा उत्पादन क्षमता निरन्तर सुधार भइरहेको विभागले जनाएको छ। सेवाग्राहीको चापलाई ध्यानमा राख्दै उत्पादन क्षमता थप वृद्धि गर्ने कामसमेत भइरहेको छ।

इ–पासपोर्ट सेवा काठमाडौंमा मात्र सीमित छैन। देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा विभिन्न इलाका प्रशासन कार्यालयबाट राहदानीसम्बन्धी सेवा उपलब्ध हुँदै आएको छ। विदेशमा रहेका नेपाली नागरिकले सम्बन्धित नेपाली नियोगमार्फत पनि इ–पासपोर्ट सेवा लिन सक्ने व्यवस्था छ।

विभागले सेवाग्राहीको चाप व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगसँग समन्वय गर्दै आएको जनाएको छ।

यसैबीच, विद्युतीय राहदानी प्रणाली सञ्चालनका क्रममा देखिने प्राविधिक समस्या समाधानका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम अघि बढाइएको विभागले जनाएको छ। प्रणालीलाई तीन महिनाभित्र थप स्थिर बनाउने गरी काम भइरहेको विभागको भनाइ छ।

प्राविधिक समस्या समाधानसँगै इ–पासपोर्ट सेवा थप सहज, भरपर्दो, सुरक्षित र प्रभावकारी बनाउनेतर्फ विभागले प्राथमिकता दिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »