
आज विश्व अंगदान दिवस। मृत्युपछि आफ्ना अंग दान गरेर अर्को व्यक्तिलाई नयाँ जीवन दिने मानवीय भावनाबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष अगस्ट १३ मा यो दिवस मनाइन्छ।
दिवसका अवसरमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायत विभिन्न स्वास्थ्य संस्थाले अंगदानसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गर्दैछन्। नेपालमा अंग प्रत्यारोपणका लागि आवश्यक कानुनी र प्राविधिक आधार विस्तार भए पनि मागअनुसार अंग उपलब्ध हुन सकेको छैन।
विशेषगरी मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंगदान गर्ने अभ्यास अझै न्यून छ। परिवारमा रहेको सामाजिक तथा धार्मिक भ्रम, अंगदानबारे पर्याप्त जानकारीको अभाव र अस्पतालबीचको कमजोर समन्वयलाई यसका प्रमुख चुनौतीका रूपमा लिइएको छ।
नेपालमा हरेक वर्ष हजारौँ मानिस मिर्गौला तथा अन्य महत्वपूर्ण अंगसम्बन्धी समस्याबाट प्रभावित हुने गरेका छन्। तर प्रत्यारोपणका लागि आवश्यक अंगको अभाव हुँदा धेरै बिरामी उपचारको प्रतीक्षामा छन्। हाल नेपालमा हुने अधिकांश मिर्गौला प्रत्यारोपण जीवित नजिकका आफन्तबाट प्राप्त अंगमा निर्भर छ।
यद्यपि आँखाको नानी दानमा भने नेपालले उल्लेखनीय प्रगति गरेको छ। नेपाल आँखा बैंकमार्फत हजारौँ आँखाका नानी संकलन तथा प्रत्यारोपण भइसकेका छन्, जसबाट दृष्टिविहीन व्यक्तिले नयाँ ज्योति पाएका छन्।
सरकारले मृत्युपछि अंगदान गर्ने परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग तथा अंगदान प्रक्रियामा सहजीकरण गर्ने अस्पताललाई ७५ हजार रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ।
विज्ञहरूका अनुसार नेपालमा अंगदानको संस्कृति विकास गर्न मस्तिष्क मृत्युपछिको अंगदानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन आवश्यक छ। अंगदानबारे सही जानकारी र सकारात्मक सोचको विकास गर्न सके मृत्युपछि पनि कसैको जीवन बचाउने अवसर सिर्जना गर्न सकिन्छ।
