मोदीखोलामा बाढीः मन्दिरमा फसेका तीन जनाको उद्धार

कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–६ बिरेठाँटीस्थित मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण मन्दिरमा बाढीका कारण फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिकाका अनुसार शुक्रबार बिहान करिब २ः१५ बजे मोदीखोलामा आएको बाढीले मन्दिरमा पुग्ने कास्की र पर्वततर्फका दुईवटा मेटल पुल बगाएको थियो। बाढीले मन्दिरको आधा भागसमेत क्षति पुर्‍याएपछि पुजारीसहित तीन जना मन्दिरमै फसेका थिए।

घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको नेतृत्वमा १३ सदस्यीय रोप रेस्क्यु तथा गोताखोर टोली र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको कमान्डमा १६ सदस्यीय नेपाल प्रहरीको टोली उद्धारमा खटिएको थियो।

बिहान ५ः१५ बजेदेखि रोप रेस्क्युको आधार तयार गरिएको थियो। त्यसपछि सशस्त्र प्रहरी सहायक प्रहरी निरीक्षक देवराज खनाल र जवान सन्तोष बाँनिया रोपको सहायताले खोला पारि पुगेका थिए। पछि सहायक हवल्दार इन्द्रबहादुर गुरुङ र जवान जनक बुढा पनि उद्धारमा थप सहयोगका लागि परिचालित भएका थिए।

रोप रेस्क्यु प्रविधि प्रयोग गरेर बिहान ७ः५५ देखि ८ः१५ बजेसम्म तीनै जनाको सुरक्षित उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

उता, बाढीले अन्नपूर्ण गाउँपालिका–६ नयाँपुलदेखि घान्द्रुक जाने सडकखण्डका विभिन्न स्थानमा करिब ३०० देखि ४०० मिटर सडक बगाएको छ। सडक क्षतिग्रस्त भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

यस्तै, नयाँपुल क्षेत्रमा विद्युत्को पोलसमेत बगाएकाले विद्युत् सेवा पनि प्रभावित भएको सशस्त्र प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »