
अस्ट्रेलियामा १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएपछि मेटाले ७ लाख ५० हजारभन्दा बढी अकाउन्ट हटाएको छ।
मेटाका अनुसार गत डिसेम्बरदेखि जुनसम्म १६ वर्षमुनिका अस्ट्रेलियालीले सञ्चालन गरेको आशंका गरिएका ७ लाख ५० हजारभन्दा बढी अकाउन्ट हटाइएको हो। हटाइएका अकाउन्टमध्ये करिब ४ लाख ६२ हजार इन्स्टाग्राम र २ लाख ९४ हजार फेसबुकका रहेका छन्।
अस्ट्रेलियाली सरकारले बालबालिका तथा किशोरकिशोरीको मानसिक र शारीरिक स्वास्थ्यमा सामाजिक सञ्जालको प्रभावलाई मध्यनजर गर्दै १६ वर्षमुनिका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएको हो।
तर, सरकारी तथ्यांक तथा स्वतन्त्र अध्ययनले प्रतिबन्ध लागू भएको सुरुआती तीन महिनामै ८० प्रतिशतभन्दा बढी नाबालकले सामाजिक सञ्जाल प्रयोग गरिरहेको देखाएको छ।
यसैबीच, नियम पालना नगर्ने सामाजिक सञ्जाल कम्पनीलाई अधिकतम ९ करोड ९० लाख अस्ट्रेलियाली डलरसम्म जरिबाना गर्ने तथा नियामक निकायको अधिकार थप विस्तार गर्ने प्रस्ताव सरकारले अघि सारेको छ।
मेटाले कानुन कार्यान्वयनका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरिरहेको जनाएको छ। कम्पनीले प्रयोगकर्ताको प्रोफाइलमा उल्लेखित जन्मदिन, विद्यालयको कक्षासम्बन्धी विवरण तथा अन्य सन्दर्भका आधारमा सम्भावित नाबालकको अकाउन्ट पहिचान गरिरहेको छ। हटाइएका अकाउन्ट पुनः खोल्ने प्रयास रोक्न थप उपायसमेत अपनाइएको मेटाले जनाएको छ।
यस विषयमा शुक्रबार मेटा, टिकटक, गुगल र स्न्यापच्याटका प्रतिनिधिले अस्ट्रेलियाली संसदीय छानबिन समितिसामु उपस्थित भएर कानुन पालना गर्न अपनाइएका उपायबारे जानकारी दिनेछन्।
