दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले बिहीबार प्रतियोगिता सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको हो।

राखेप अध्यक्ष तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद प्रतियोगिता पुस १५ गतेदेखि सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। बैठकले २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी तथा अफिसियलको नामावलीलाई पनि अनुमोदन गरेको छ।

बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सफल बनाउन सम्बन्धित सबै पक्ष एकताबद्ध भएर तयारीमा जुट्न आग्रह गरे।

बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, राखेप उपाध्यक्ष विशाल श्रेष्ठ, प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तथा परिषद्का बोर्ड सदस्यहरूको उपस्थिति थियो। बैठकमा राखेप सदस्य–सचिव रामचरित्र मेहताले विभिन्न विषयमा प्रस्ताव तथा जानकारी प्रस्तुत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »