विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु : देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीले बोलाएको विशेष महाधिवेशन आफूले स्वीकार नगरेको बताएका छन्। काठमाडौंमा आयोजित कांग्रेसको इतरसमूहको भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशन नमाने पनि अदालतबाट हुने निर्णय भने आफूले स्वीकार गर्ने स्पष्ट पारे।

विचाराधीन मुद्दामा अदालतले न्याय दिने विश्वास व्यक्त गर्दै देउवाले पार्टी र देशको भविष्य नेपाली जनताको निर्णयमा निर्भर रहने बताए। उनले आफूलाई नेता तथा कार्यकर्ताले दिएको साथ कहिल्यै नबिर्सने पनि उल्लेख गरे।

धर्मका विषयमा बोल्दै देउवाले आफू हिन्दु भएको र हिन्दु संस्कारअनुसार नै आफ्नो ब्रतबन्ध तथा विवाह भएको बताए। उनले पशुपतिनाथ जाने र पूजा गर्ने गरेको उल्लेख गर्दै नेपालमा सबै धर्मप्रति सम्मान र धार्मिक स्वतन्त्रता हुनुपर्ने धारणा राखे।

उनले बौद्ध धर्मप्रति पनि आफ्नो सम्मान रहेको बताए। बुद्धको शिक्षालाई संसारले स्वीकार गरेको र बौद्ध धर्मलाई वैज्ञानिक धर्मका रूपमा समेत चर्चा गरिने उनको भनाइ थियो।

नेपालमा विभिन्न समुदायले आ–आफ्ना प्राकृतिक तथा सांस्कृतिक धार्मिक परम्परा मान्दै आएको उल्लेख गर्दै देउवाले राई, लिम्बूलगायत सबै समुदायको सम्मान गर्नुपर्ने बताए।

नेपाल धर्म निरपेक्ष मुलुक रहनुपर्छ भन्ने आफ्नो धारणा भए पनि अन्तिम निर्णय नेपाली जनताको इच्छाअनुसार हुने देउवाले बताए। धार्मिक विषयमा केही बोलिदिन नेता–कार्यकर्ताले आग्रह गरेपछि आफूले आफ्नो धारणा सार्वजनिक गरेको उनको स्पष्टोक्ति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »