
बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन्।
प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन्। इच्छुक सदस्यले भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्नुपर्नेछ।
मुख्यमन्त्री बानियाँले प्रदेश सभाबाट विश्वासको मत लिनुअघि नै राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो। नेकपा एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
अब बहुमत जुटाएर नयाँ सरकार गठनका लागि दलहरूबीच छलफल र कसरत सुरु भएको छ। बागमती प्रदेशमा सरकार गठनका लागि ५३ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ।
नेकपा र नेकपा एमालेबीचको गठबन्धनले अन्य दलको समर्थन जुटाएर सरकार गठन गर्ने तयारी गरेका छन्। दुई दलबीचको भागबण्डाअनुसार बागमतीमा एमालेको नेतृत्वमा सरकार बन्ने तयारी छ।
तर एमालेभित्रै संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकाले मुख्यमन्त्रीको उम्मेदवार टुंगो लाग्न बाँकी छ। १६ सांसदको हस्ताक्षरसहित भक्तपुरका किरण थापा मगरलाई संसदीय दलको नेता बनाउन माग गर्दै साउन २७ गते अविश्वास प्रस्ताव दर्ता भएको हो। यसबारे निर्णय गर्न मंगलबार एमाले संसदीय दलको बैठक बोलाइएको छ।
१०४ सदस्यीय बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, नेकपा एमालेका २५, राष्ट्रिय प्रजातन्त्र पार्टीका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।
