
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा अवरोध सिर्जना भए सहयोगी राष्ट्र ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका छन्। फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्ताका क्रममा ट्रम्पले यस्तो चेतावनी दिएको समाचारमा उल्लेख छ।
अमेरिका र ओमानले विश्व व्यापार तथा ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण हर्मुज जलडमरूमध्य पुनः सञ्चालनका लागि इरानसँग छुट्टाछुट्टै वार्ता गरिरहेका छन्। अमेरिका–इरान द्वन्द्वका कारण पछिल्लो छ महिनादेखि यो जलमार्गको सञ्चालन प्रभावित हुँदै आएको छ।
ओमानले इरानसँग जलमार्ग सञ्चालनसम्बन्धी सम्झौता अन्तिम चरणमा पुगेको घोषणा गरेको केही घण्टामै ट्रम्पको कडा टिप्पणी सार्वजनिक भएको हो। इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाईका अनुसार यातायात मार्गको ढाँचासम्बन्धी विषयमा दुवै पक्षबीच सहमति भइसकेको छ।
यसैबीच, अमेरिका र इरानबीच भएको ६० दिने सहमतिको अवधि सकिन लागेसँगै वार्ताको भविष्य अन्योलमा परेको छ। ट्रम्पले उक्त सहमतिको अवधि थप गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन्।
इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर (आईआरजीसी) सँग प्रत्यक्ष वा अप्रत्यक्ष वार्ता भइरहेको ट्रम्पको दाबीलाई भने इरानले अस्वीकार गरेको छ। आईआरजीसीका प्रवक्ताले ट्रम्पको दाबीलाई ‘भ्रम र कपोलकल्पित’ भएको बताएका छन्।
गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि हर्मुज जलडमरूमध्यको सञ्चालन प्रभावित हुँदै आएको छ। विश्वको कुल तेल, पेट्रोलियम तथा ग्यास आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने यो जलमार्ग सुचारु गराउन तटस्थ राष्ट्र ओमानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ।
