संघीय कर्मचारीलाई खुसीको खबर, अब १५ दिनमै तलब

सरकारले संघीय सरकारअन्तर्गतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई अब हरेक १५ दिनमा तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था लागू गर्ने भएको छ। महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका), निवृत्तिभरण व्यवस्थापन कार्यालय तथा कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयलाई पत्राचार गर्दै नयाँ व्यवस्थाबारे जानकारी गराएको हो।

अर्थ मन्त्रालयले गत वैशाखमै संघीय सरकारअन्तर्गतका कर्मचारीलाई अर्धमासिक रूपमा तलब भुक्तानी गर्ने निर्णय गरेको थियो। तर, आवश्यक प्रणाली विकास हुन नसक्दा उक्त निर्णय तत्काल कार्यान्वयनमा आउन सकेको थिएन।

महालेखा नियन्त्रक कार्यालयले सोमबार गरेको निर्णयअनुसार अब प्रत्येक महिनाको १५ दिन पूरा भएपछि कर्मचारीलाई तलब तथा भत्ता भुक्तानी गरिनेछ। यससँगै संघीय निकायमा कार्यरत कर्मचारीले महिनामा दुईपटक तलब पाउने व्यवस्था कार्यान्वयनमा आउने भएको छ।

कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र पर्ने संघीय निकायबाट अर्धमासिक तलब तथा भत्ता भुक्तानीका लागि निकासा माग भएमा आवश्यक व्यवस्था मिलाउन कोलेनिकाहरूलाई निर्देशनसमेत दिएको छ।

सरकारले अर्धमासिक तलब भुक्तानी कार्यक्रमको सुरुवात अर्थ मन्त्रालयबाट गरेको थियो। चालु आर्थिक वर्षदेखि सबै संघीय निकायमा विस्तार गर्ने योजना रहे पनि आवश्यक प्रणाली तयार हुन समय लाग्दा कार्यान्वयनमा करिब एक महिना ढिलाइ भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »