
गृहमन्त्री सुधन गुरुङले आफूमा शासकीय घमण्ड र सत्ताको लोभ नरहेको बताएका छन्। ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले देश र समाजका लागि सकारात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
गुरुङले नागरिकको सेवामा ललितपुर महानगरपालिकाले गर्दै आएको काम प्रशंसनीय र उदाहरणीय रहेको बताए। कला, संस्कृति र सभ्यताको संरक्षणमा महानगरपालिकाले पुर्याएको योगदान पनि अनुकरणीय रहेको उनको भनाइ थियो।
ललितपुर र भक्तपुरले नेपालको कला, संस्कृति तथा परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले ती क्षेत्रमा पुग्दा देशको गौरव महसुस हुने बताए। महानगरपालिकाले नयाँ सोचका साथ अघि बढाएका कामबाट गृह मन्त्रालयले समेत सिक्न सक्ने भन्दै उनले यस्ता नवप्रवर्तनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालकुमारीदेखि बल्खुसम्मको ७.९ किलोमिटर सडकखण्डमा जडान गरिएको स्मार्ट स्ट्रिट लाइटले सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए।
महर्जनले स्मार्ट स्ट्रिट लाइटको अवधारणा नेपालमा ललितपुर महानगरपालिकाले सुरु गरेको दाबी गर्दै महानगरपालिकाले सहरी पूर्वाधारमा नयाँ प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको बताए।
