मोबाइलको सिसा फेर्दा काटेको ३५० रुपैयाँको बिलमा १० लाखको चिठ्ठा!

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन्। आन्तरिक राजस्व विभागले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा मन्त्रालयमा बम्पर उपहार विजेताको घोषणा गरेको हो।

साउन महिनाको दोस्रो १६ दिनमा प्रत्येक दिनबाट एक–एक जना र सहभागीमध्येबाट थप एक जनालाई बम्पर उपहारका लागि छनोट गरी कुल १७ जना उपभोक्ता छनोट गरिएको थियो। त्यसमध्ये पुडासैनी बम्पर उपहारका विजेता बनेका हुन्।

पुडासैनीले मोबाइलको कभर र सिसा फेर्दा तिरेको ३५० रुपैयाँको कारोबारको बिलमार्फत १० लाख रुपैयाँको बम्पर उपहार जितेका हुन्।

नेपाल प्रहरीमा प्रहरी नायब निरीक्षक पदमा कार्यरत पुडासैनी हाल बागमती प्रदेश प्रहरी गण, हेटौँडामा कार्यरत छन्। उनको स्थायी घर बाराको सिमरा हो।

अर्थ मन्त्रालयसँगको कुराकानीमा पुडासैनीले मोबाइलको कभर र सिसा मर्मतका लागि दुई–तीनवटा पसलमा पुगेपछि गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सर्भिसमा कारोबार गरेको बताए। त्यही कारोबारको बिलबाट १० लाख रुपैयाँको पुरस्कार परेको जानकारी पाएपछि आफू निकै खुसी भएको उनले बताए।

पुडासैनीले पुरस्कार जितेपछि विभिन्न ठाउँबाट बधाई आइरहेको उल्लेख गर्दै सबैलाई कारोबार गर्दा अनिवार्य रूपमा बिल लिन र दिन आग्रह गरे। उनले सकेसम्म अनलाइनमार्फत कारोबार गर्न तथा हरेक खरिदमा बिल लिने बानी बसाल्न पनि अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »