नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति खारेज

सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर गरेको छ। बिहीबार न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले श्रेष्ठको नियुक्ति बदर गर्ने आदेश दिएको हो।

यद्यपि, श्रेष्ठको स्थानमा आफूलाई कार्यकारी अध्यक्ष नियुक्त गर्नुपर्ने मागसहित निगम सञ्चालक समिति सदस्य उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटमा उक्त माग भने अस्वीकार भएको छ।

कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयसहित पाँच जनालाई विपक्षी बनाएर असार ३२ गते सर्वोच्चमा रिट दायर गरेका थिए। उनले श्रेष्ठको नियुक्ति खारेज गर्दै आफूलाई कार्यकारी अध्यक्ष नियुक्त गर्न परमादेश माग गरेका थिए।

सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार अदालतले आंशिक रूपमा मात्रै रिट जारी गरेको हो। उनका अनुसार श्रेष्ठको नियुक्ति बदर भए पनि कार्कीलाई कार्यकारी अध्यक्ष नियुक्त गर्न परमादेश जारी भएन।

यसअघि पर्यटन मन्त्रालयले योग्यता क्रममा पहिलो नम्बरमा रहेका कार्कीलाई सञ्चालक समिति सदस्यसमेत नियुक्त गरेको थिएन। त्यसविरुद्ध कार्की सर्वोच्च पुगेपछि न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको इजलासले मन्त्रालयले गरेको सञ्चालक समिति सदस्य नियुक्ति बदर गर्दै पुनः नियुक्तिका लागि परमादेश जारी गरेको थियो।

सर्वोच्चले कार्कीलाई नियुक्त नगर्नुपर्ने कुनै आधार र कारण नदेखिएको भन्दै मन्त्रालयले ‘पिक एन्ड चुज’ गरेको ठहर गरेको थियो। त्यसपछि मन्त्रालयले कार्की र भीम चन्दलाई सञ्चालक समितिमा नियुक्त गरेको थियो।

तर, त्यसपछि निगमको कार्यकारी अध्यक्ष नियुक्त गर्दा पुनः श्रेष्ठलाई जिम्मेवारी दिइएपछि कार्कीले उक्त नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। सोही रिटमा सर्वोच्चले श्रेष्ठको नियुक्ति बदर गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »