
रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) केशवप्रसाद ओलीका लागि बुधबारको दिन विशेष बन्यो। सरकारी जिम्मेवारी सम्हालिरहेका उनले आफ्नै आमाको नागरिकताको प्रतिलिपिमा हस्ताक्षर गरेर आमालाई बुझाउने अवसर पाए।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–७ की मोतिकला ओलीको नागरिकता केही समयअघि पानी परेर च्यातिएको थियो। नागरिकताको प्रतिलिपि लिन उनी बुधबार जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन्। आवश्यक प्रक्रिया पूरा गरेपछि नागरिकताको प्रतिलिपिमा हस्ताक्षर गर्ने अधिकारी उनकै छोरा केशव बने।
आफ्नै आमाको नागरिकतामा सरकारी अधिकारीका रूपमा हस्ताक्षर गर्न पाउँदा केशव निकै खुसी र भावुक बने। उनले उक्त क्षणको भिडियो सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘सधैँ नमिल्ने एक खुसीः आफ्नै आमाको नागरिकतामा यो छोराको आफ्नै हातले साइन गर्दा हात काँप्यो, मन बहकायो । किनकि भारी खुसी र गर्व थियो।’
केशवले सामाजिक सञ्जालमा राखेको उक्त भिडियो अहिले चर्चामा छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले यो क्षणलाई दुर्लभ र भावुक संयोग भन्दै उनलाई बधाई दिएका छन्। सरकारी सेवामा रहेका छोराले आफ्नै आमाको नागरिकतामा हस्ताक्षर गरेर उनलाई नै बुझाएको घटना विरलै हुने भएकाले यो क्षण विशेष बनेको हो।
केशवको सरकारी सेवाको यात्रा पनि संघर्ष र मेहनतले भरिएको छ। उनले सुरुमा चार्टर्ड एकाउन्टेन्ट (सीए) पढ्न थालेका थिए। करिब एक वर्षपछि त्यो पढाइ छाडेर व्यवस्थापन संकायमा स्नातक (बीबीएस) अध्ययन सुरु गरे। त्यसपछि लोकसेवा आयोगको तयारीमा लागेका उनले तीन महिनाको तयारीमै २०७५ साल जेठमा खरिदार पदमा नाम निकाले।
खरिदारका रूपमा उनको पहिलो नियुक्ति जिल्ला अदालत दाङमा भयो। सेवाकै क्रममा उनले नायब सुब्बा पदमा पनि नाम निकाले र करिब पाँच वर्ष लेखापालका रूपमा काम गरे। निरन्तरको मेहनतपछि २०८० साल फागुनमा उनी शाखा अधिकृत बने। त्यसयता उनी आफ्नै गृह जिल्ला रुकुम पश्चिममा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छन्।
केशव सामान्य पारिवारिक पृष्ठभूमिबाट सरकारी सेवाको उच्च जिम्मेवारीसम्म पुगेका हुन्। उनका बुबा झण्डै ३० वर्षदेखि गाउँकै एक विद्यालयमा कार्यालय सहयोगीका रूपमा कार्यरत छन् भने आमा गृहिणी हुन्। दुई दिदीबहिनीका एक्ला भाइ केशवले पारिवारिक अवस्थाका बाबजुद निरन्तर मेहनत गर्दै सरकारी सेवामा आफ्नो स्थान बनाएका हुन्।
आफ्नै आमाको नागरिकतामा सहायक सीडीओका रूपमा हस्ताक्षर गरेर उनलाई बुझाउने अवसरले उनको सरकारी सेवाको यात्रामा अर्को अविस्मरणीय क्षण थपिएको छ।
सरकारी सेवा रोज्नुको कारणबारे केशव भन्छन्, ‘सरकारी सेवा धेरै राम्रो छ । यसबाट देश र नागरिकको प्रत्यक्ष सेवा गर्न पाइन्छ । राज्यबाट तलब लिएर पनि नागरिकको सेवा गर्न पाउनु हाम्रा लागि ठूलो गर्व र खुसीको कुरा हो ।’
