कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्काको रिट

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्च अदालत पुगेको छ। पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार छुट्टाछुट्टै रिट निवेदन दायर गरेका छन्।

यसअघि गत शुक्रबार पेश भएका दुवै निवेदन थप अध्ययन आवश्यक रहेको भन्दै सर्वोच्च प्रशासनले फिर्ता पठाएको थियो। केही संशोधनसहित पुनः पेश गरिएका रिट अहिले दर्ता प्रक्रियाका लागि अध्ययन भइरहेको सर्वोच्च प्रशासनले जनाएको छ।

देउवाले अन्तरिम आदेशमार्फत १५औँ महाधिवेशनका सम्पूर्ण प्रक्रिया तत्काल रोक्न माग गरेका छन्। खड्काले पनि महाधिवेशनसम्बन्धी गतिविधि रोक्न माग गर्दै पुरक निवेदन दिएका छन्।

कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएको थियो। त्यसविरुद्ध देउवा र खड्का सर्वोच्च पुगेका थिए। सर्वोच्चले आयोगको निर्णय सदर गरेपछि थापा नेतृत्वले आधिकारिकता पाएको थियो। तर त्यसविरुद्ध परेको पुनरावलोकन निवेदनमा सर्वोच्चले गत साउन २२ गते निस्सा दिएपछि विवाद पुनः विचाराधीन बनेको छ।

देउवा–खड्का पक्षले आधिकारिकता विवाद टुंगो नलागेसम्म थापा नेतृत्वले महाधिवेशन अघि बढाउन नहुने तर्क गरेको छ। यता थापा नेतृत्वको कांग्रेसले भने आगामी असोजमा महाधिवेशन गर्ने गरी तयारी अघि बढाइरहेको छ।

यससँगै कांग्रेसभित्रको आधिकारिकता र नेतृत्व विवाद थप जटिल बन्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »