
चितवनमा प्रहरीले १६८ किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कार चालक दिल्ली राम थारू र कारमा सवार कर्णबहादुर तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरूलाई भरतपुर महानगरपालिका–१० स्थित चितवन मेडिकल कलेज नजिकबाट पक्राउ गरिएको हो।
प्रहरीले कार जाँच गर्ने क्रममा पछाडिको डिक्कीमा सेतो प्लास्टिकका बोराभित्र लुकाएर राखिएको गाँजा बरामद गरेको जनाएको छ। बरामद गाँजा १२ वटा पोकामा रहेको र तौल गर्दा १६८ किलो भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको छ। प्रहरीले उनीहरूविरुद्ध चितवन जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।
