देउवा र खड्काले सर्वोच्चमा बुझाए महाधिवेशन रोक्ने रिट

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन्।

देउवाको वारेस भएर कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काको वारेस भएर अधिवक्ता श्रवणकुमारले सोमबार निवेदन दिएका थिए। उक्त निवेदन मंगलबार सर्वोच्चमा दर्ता भएको अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए।

दुवै निवेदनमाथि भदौ ११ गते पेसी तोकिएको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिले १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने गरी प्रक्रिया अघि बढाएको छ।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्नुपर्ने देउवा र खड्काको माग छ।

यसअघि निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएको थियो। त्यसविरुद्ध देउवा र खड्का सर्वोच्च पुगेका थिए। सर्वोच्चले आयोगको निर्णय सदर गरेपछि उनीहरूले आदेश पुनरावलोकनको माग गरेका थिए।

पुनरावलोकनको निस्सा प्रदान भएपछि कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »