
रसुवामा तिब्बततर्फबाट आएको ठूलो बाढीका कारण टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा जनधन तथा भौतिक संरचनामा क्षति पुगेको छ। बाढीका कारण केही गाउँ डुबानमा परेका छन् भने क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तिब्बततर्फबाट आएको बाढीले रसुवाका विभिन्न क्षेत्रमा असर गरेको हो। बाढीको अवस्था अझै गम्भीर हुनसक्ने भन्दै सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ।
यसैबीच, गृह मन्त्रालयले भोटेकोशी र त्रिशूली नदीमा बाढीको जोखिम बढेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्रालयले नदी तथा खोलाको किनारमा नजान, अनावश्यक यात्रा नगर्न र जोखिम देखिए तत्काल सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ। साथै, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आधिकारिक निकायबाट जारी हुने सूचना र चेतावनी पालना गर्न आग्रह गरिएको छ।
खोज तथा उद्धार आवश्यक परे वा सहायता चाहिएमा टोल फ्री नम्बर १२३४ मा तत्काल सम्पर्क गर्न गृह मन्त्रालयले अनुरोध गरेको छ।
बाढीको जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिङ–नारायणगढ सडकमा यात्रा नगर्नसमेत आग्रह गरिएको छ। ती क्षेत्रमा आवतजावत रोक्न सम्बन्धित निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ।
सरकारले सम्भावित जोखिम बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित रहन र अफवाहको पछि नलागी आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ।
