त्रिशूली–नारायणीमा बाढीको जोखिम, नदीमा नजान चितवन प्रशासनको आग्रह

चितवन । तिब्बततर्फबाट आएको बाढीका कारण त्रिशूली नदीमा बहाव बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार सूचना जारी गर्दै त्रिशूली नदीमा आकस्मिक बाढी आउन सक्ने र नदीको बहाव बढेर विपद्को जोखिम हुनसक्ने जनाएको हो। प्रशासनले त्रिशूली तथा नारायणी नदीमा माछा मार्ने तथा अन्य कामका लागि नदीमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ।

नदीमा जानुपर्ने अवस्था आए तत्काल सुरक्षित स्थानमा जान तथा नदी आसपासका क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण, निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाहरू र नदी तटीय क्षेत्रमा रहेका कार्यालयलाई आवश्यक पूर्वतयारी तथा सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।

स्थानीय तहलाई नदी किनारमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित स्थानमा सार्न तथा नदी किनारका बस्ती र बाढीको दृष्टिले जोखिमपूर्ण स्थानमा बसोबास नगर्न अनुरोध गरिएको छ।

प्रशासनले विपद्को अवस्था आउन सक्ने भएकाले सम्बन्धित निकायलाई आवश्यक तयारी अवस्थामा रहनसमेत आग्रह गरेको छ।

आपत्कालीन अवस्था वा उद्धार तथा सहयोग आवश्यक परे नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बल नेपालको १११४ र जिल्ला आपत्कालीन केन्द्र (DEOC) को १२३४ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।

यस्तै, जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारीसँग समेत सम्पर्क गर्न सकिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »