
बाढीका कारण अवरुद्ध काठमाडौं–मुग्लिन सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग आज बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सडकमा थुप्रिएको लेदो हटाउन १५ वटा उपकरण परिचालन गरी कामलाई तीव्रता दिइएको छ।
सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार बैरेनीदेखि गलौंदीसम्मको करिब १३ किलोमिटर सडकखण्डमा बाढीले विभिन्न ठाउँमा ठूलो मात्रामा लेदो थुपारेको छ।
मुग्लिनदेखि गलौंदीसम्म तथा काठमाडौं–बैरेनी खण्ड भने अहिले सफा रहेको उनले बताए। बैरेनी–गलौंदी खण्डमा लेदोको मात्रा धेरै भएकाले त्यसको तल सडकको अवस्था कस्तो छ भन्ने यकिन गर्न कठिन भइरहेको छ।
न्यौपानेका अनुसार लेदो हटाउने काम बुधबार रातिदेखि नै सुरु गरिएको थियो। राति १० बजेपछि वर्षा भएपछि केही समय काम रोकिए पनि बिहीबार बिहानैदेखि पुनः उपकरण परिचालन गरेर सडक सफा गर्ने काम भइरहेको छ।
विशेष अवस्था नआए बिहीबार दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको विभागले जनाएको छ।
बुधबार भोटेकोशी नदीमा आएको बाढीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुर्याएपछि सडक अवरुद्ध भएको थियो।
