
नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ।
न्यायाधीश नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको इजलासमा सुनुवाइ भइरहेको हो। देउवा र खड्काले असोजमा हुने तय भएको महाधिवेशनका सम्पूर्ण कार्यक्रम रोक्न अन्तरिम आदेश माग गरेका छन्।
विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेको विषयमा सर्वोच्चमा पुनरावलोकनको आदेश भइसकेकाले मुद्दाको अन्तिम टुंगो नलागेसम्म नयाँ महाधिवेशन गर्न नहुने उनीहरूको जिकिर छ।
कांग्रेसले भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
उक्त कार्यतालिकाअनुसार प्रक्रिया अघि बढे अदालतमा विचाराधीन मुद्दा नै प्रयोजनविहीन हुने भन्दै देउवा र खड्काले महाधिवेशनसम्बन्धी सबै गतिविधि यथास्थितिमा राख्न माग गरेका छन्।
