बाढी प्रभावित स्थानीय तहका लागि ६ करोड ७५ लाख निकासा

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले ६ करोड ७५ लाख रुपैयाँ निकासा गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीबाट प्रभावित १५ स्थानीय तहका लागि शुक्रबारसम्म उक्त रकम निकासा गरेको हो। प्राधिकरणका अनुसार निकासा भएको रकम प्रभावित स्थानीय तहलाई क्षतिको अवस्था र आवश्यकताका आधारमा वितरण गरिनेछ।

प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको ३५औँ बैठकले प्राधिकरणको कोषमा रहेको रकम तत्काल राहतका लागि निकासा गर्ने निर्णय गरेको थियो। अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित गरी स्थानीय तहलाई वर्गीकरण गरेर सोहीअनुसार अनुदान तथा सहायता उपलब्ध गराइने प्राधिकरणले जनाएको छ।

क्षतिको आधारमा रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङ गाउँपालिका, नुवाकोटका विदुर र बेलकोट नगरपालिका तथा तारकेश्वर र किस्पाङ गाउँपालिकालाई रकम उपलब्ध गराइनेछ।

त्यस्तै, धादिङका बेनिघाट रोराङ, गजुरी, गल्छी र सिद्धलेख गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका तथा तनहुँका देवघाट र आबुँखैरेनी गाउँपालिकामा भएको क्षतिको आधारमा अनुदान वितरण गरिनेछ।

बैठकले केन्द्रीय विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहलाई विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, २०७९ बमोजिम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ।

निकासा गरिएको रकम बराबरको शोधभर्ना भने अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय भएको प्राधिकरणले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »